आन्तरिक राजस्व कार्यालयद्वारा एकदिने तालिम

सदरलाइन संवाददाता १६ श्रावण २०८०, मंगलवार १४:१९
 

नेपालगञ्ज : आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लेखा व्यवस्थापन र वर्तमान कर प्रणाली विषयको एकदिने तालिम प्रदान गरेको छ ।

नेपालगञ्जमा सम्पन्न भएको सो तालिम आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र गैरसरकारी संस्था महासङ्घ नेपाल, बाँके शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको गैरसरकारी संस्था महासङ्घ बाँकेका तालिम संयोजक मन भण्डारीले जानकारी दिए । तालिममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत सुदिशकुमार अर्यालले करको विषयमा विभिन्न खालका जटिलताहरु रहेको बताउँदै तालिमबाट करको विषयमा रहेका जटिलता र समस्याको हल गर्न मदत पुग्ने बताए ।


गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर अधिकृत लक्ष्मीप्रसाद उपाध्याय, चार्टड एकाउन्टेन्ट तेजप्रकास दीक्षित, गैसस महासङ्घ नेपाल बाँके शाखा सदस्य मन भण्डारीले वर्तमान कर प्रणाली, करको दायरा, व्यवस्थित तरिकाले लेखा कसरी राख्ने, आयकरको गणना कसरी गर्ने, टिडिएस दाखिला कुनकुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस कसरी गर्ने, राजस्वका शीर्षकहरु, समयमा कर दाखिला नगरेमा के हुन्छ, आयकर ऐनमा गैरसरकारी संस्थासँग सम्बन्धित व्यवस्था, लेखा परीक्षण, व्यवस्थित लेखा प्रणाली, सामाजिक परीक्षणलगायतका विषयमा प्रशिक्षण दिइएको गैसस महासङ्घ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

गैसस महासङ्घ बाँकेका सचिव आशिष वर्माले गैसस प्रतिनिधि र गैससमा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि महासङ्घले विभिन्न कार्यक्रम र तालिम सञ्चालन गर्ने वार्षिक योजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले तालिमबाट लेखा व्यवस्थापन र कर प्रणालीको विषयमा प्राप्त गरेको ज्ञानलाई कार्यक्षेत्रमा लागु गर्नुपर्ने बताए । उक्त तालिममा बाँके जिल्लामा कार्यरत विभिन्न ३० भन्दा बढी संस्थाका लेखा प्रमुख र लेखा सहायकको सहभागिता रहेको गैसस महासङ्घ बाँकेका कोषाध्यक्ष सूर्यलाल यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

१६ श्रावण २०८०, मंगलवार १४:१९
नेपालगञ्ज : नेपालगञ्ज इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगञ्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ । टिम डि–एडजको आयोजनामा शुरु हुने क्रस राइडको यात्रा डि एड्ज फिटनेस क्लव, जङ्गल हुँदै राप्ती पुल, सन्तानेश्वर, अगैंया, कोहलपुर हुँदै पुनः नेपालगञ्ज आइपुग्ने टिम डिएडजका सञ्चालक तथा आयोजक दिनेश थापाले बताएका छन् […]

सम्बन्धित