सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रदेशसभा १(१)बाट निर्वा्चित सांसद कृष्ण केसी (नमूना)लाई शुक्रबार नरैनापुरमा बन्धक बनाउने प्रयास गरिएको छ । सांझ ६ बजेदेखि सांसद केसीलाई गाउँपालिकाको कार्यालयबाट बाहिर आउन दिइएको थिएन । करिब ६ बजे नरैनापुर पुगेकी सांसद केसीलाई सदरमुृकाम नेपालगञ्जबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले शुक्रवार राती १० बजेर गाउँपालिकामा सकुशल उद्धार गरि ईलाका प्रहरी कार्यालय भगवानपुर हुँदै राती २ बजे सदरमुकाम नेपालगञ्ज पुर्याएको हो ।
घटनाका समयमा सुरुमा नरैनापुरमा चारजना प्रहरी र केही सशस्त्र प्रहरी मात्रै भएका कारण भिँड अनियन्त्रित भएको थियो । भारतीय सीमासँग जोडिएको बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरमा लाग्ने हाटबजारमा ब्यवसाय गर्ने भारतीय नागरिक देबिदिन विकलाई प्रहरीले शुक्रबार अपरान्ह पाँच किलो चरेससहित पक्राउ गरेपछि उनको रिहाईका लागि सीमापारीबाट भारतीय नागरिक समेत नरैनापुर पुगेका थिए । सोहीक्रममा निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा रहकी सांसद केसीको गाडी रोकेर उनीहरुले भारतीय नागरिक निर्दोष भएकाले तत्काल रिहाई गरिदिन सांसद केसीलाई दबाब दिएका हुन् ।
नेपालगञ्जमा शनिवार पत्रकारसँग कुरा गर्दै सांसद केसीले आफ्नै निर्वाचन क्षेत्रमा बाहिरका मानिसबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुश भएको बताइन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्थितीलाई नियन्त्रणमा लिनेक्रममा ६३ राउण्ड हवाईफायर गरिएको जानकारी दिए । सोक्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका एकजना जवान घाइते भएका छन् ।
आक्रोशित भीडले ईलाका प्रहरी कार्यालय भोजभगवानपुरभित्र राखिएको गाडी र मोटरसाईकल समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सापकोटाले नरैनापुरमा अहिले परिस्थिती सम्पूर्ण रुपमा नियन्त्रणमा रहेको जानकारी दिए । यसैबीच नेकपा बाँकेले घटनापछि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सचिव अशोक कोइरालाले घटनामा संलग्नको पहिचान गरि कारवाही गर्न माग गरे ।