डेढ महिनाअघि उदघाटन गरिएको आइसिपी सञ्चालन हुन सकेन

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १४:३८
 

नेपालगञ्ज : नेपालगञ्जस्थित एकीकृत जाँच पोष्ट (आइसीपी) को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले २० जेठ, ०८० मा भारतको दिल्लीबाट उदघाटन गरे । उदघाटनकै बेला दुई देशका मालबाहक गाडी वारपार गराइयो । उदघाटन भएको खुसियालीमा दुवै देशमा पञ्चेवाजा बजाइयो । उद्योगी, ब्यापारीमात्र नभई सर्वसाधारणले समेत खुशियाली मनाए ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उदघाटन गरेपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रम समेत गरे । तर, उदघाटन भएको डेढ महिना वित्दा समेत उक्त आइसिपी सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनीले सरकारलाई अझैँ हस्तान्तरण नगरेको भवन डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख विजयकेशर खनालले बताए ।

उनले आइसिपी भित्र भौतिक संरचना निर्माणको काम जारी रहेको बताए । ‘निर्माण पूरा नभएकोले निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरेका छैन । हस्तान्तरण नहुँदै आइसिपी संचालन हुने कुरै भएन,’ उनले भने ।

आइसीपी नेपालगञ्ज र भारतको रूपईडिहामा अवस्थित छ । नेपालतिर ८७ बिघामा फैलिएको आइसीपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका लागि पूर्वाधार निर्माण हुनु पर्ने छ ।

अन्य संरचना निर्माण पूरा भए पनि अहिलेसम्म भन्सार, प्रशासनिक भवन, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, महिला प्रहरी ब्यारेक, आयात, निर्यात गोदाम घर निर्माणको क्रममा छ । ‘आइसिपी भित्र निर्माण भइरहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी भवन, पानी टंकी र कम्पाउण्ड वाल फिनिसिङ भइरहेको छ,’ भवन डिभिजन प्रमुख खनालले भने ।

उनले भौतिक संरचना निर्माणको प्रगति ९५ प्रतिशत भइसकेको बताए । आइसिपीलाई आवश्यक पर्ने विद्युतका लागि नेपाल विद्युत प्राधिकरणलाई पैँसा बुझाईसकेको बताए । ‘विद्युत लाइन तान्नका लागि हामीले रकम बुझाई सकेका छौँ । तर अहिलेसम्म विद्युत लाइन तान्ने काम भएको छैन,’ उनले भने ।


उनले सम्पूर्ण भौतिक संरचना निर्माण गर्न अझैँ डेढ–दुई महिना लाग्ने बताए । ‘आइसिपी दसैँअघि संचालनमा आउने छाँट देखिदैन,’ खनालले भने, ‘कर्मचारीको ब्यवस्थापन गर्न अँझ धेरै समय लाग्नसक्छ । तिहारपछि मात्र संचालनमा आउने सम्भावना देख्छु मैले ।’

आइसिपी निर्माण कार्य पूरा नभएकोले दुई देशका मालबाहक गाडी जमुनाहन भएर आउजाउ गरिरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले बताए । उनले भन्सार, क्वारेन्टिन, प्रशासनका कर्मचारी र सुरक्षाकर्मीको ब्यवस्था भएपछि मात्र आइसीपी संचालनमा आउने बताए । ‘सरकारले सम्पूर्ण तयारी गरेपछिमात्र आइसिपी संचालनमा आउनेछ,’ उनले भने ।

८७ बिघा क्षेत्रफल ओगटेको आइसिपी निर्माणका लागि नेपाल सरकारले ०६६÷६७ मा नौँ करोड ३९ लाख रुपैयाँ मुआब्जा दिएर जमिन अधिग्रहण गरेको थियो । २६ फेब्रुअरी, ०२१ देखि निर्माणको काम सुरु भएको उक्त आइसिपी निर्माणमा भारत सरकारको एक अर्ब ४७ करोड भारतीय रुपैयाँ अर्थात् दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ खर्च भएको छ ।

भारत सरकारले ९ जुन २०२२ मा निर्माण सक्ने गरी सम्झौता गरे पनि कोरोनाका कारण काम गर्न नसकेको भन्दै निर्माण कम्पनीले थप समय मागेको थियो । सन् २००५ मा दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेपछि निर्माण सुरु भएको थियो ।

यसअघि नेपाल–भारत सीमा नाका अन्तरगत वीरगन्ज, विराटनगर र भैरहवाको आइसीपी सञ्चालनमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट भारत जानेको सङ्ख्या बढ्यो

५ श्रावण २०८०, शुक्रबार १४:३८
नेपालगञ्ज : नेपालगञ्ज भएर कामको खोजीमा भारत जाने नेपालीको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यसरी जानेमा पिठ्युँमा बालबालिका बोकेका महिलासमेत छन् । धान रोपाइँ सकिएपछि कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेपालीहरु कामका लागि भारत जाने गरेका हुन् । कतिपय नेपालीहरु नेपालगञ्जबाट भारतका विभिन्न शहरमा सञ्चालनमा रहेका यात्रुवाहक […]