नेपाल आईसीसी टी–२० विश्व कप छनोटको सेमिफाइनलमा प्रवेश

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १८:२५
 

काठमाण्डौ : नेपाल समूह ए विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनोटको सेमिफाइनलमा पुगेको छ । ओमानको अल अमिरात मैदानमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएको हो ।

नेपालको जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखोली एक बलमै आउट भए । बलिङ तर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्यो । उसका लागि डिलोन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बोहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।


यसअघि नेपालले फिलिपिन्स र आयोजक ओमानलाई हराएको थियो ।

अब नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता यूएईसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बी को विजेता आयरल्यान्डले समूह ए को उपविजेता ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल मङ्गलवार हुनेछ ।

यस्तै फाइनल खेल आउँदो बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसीबारे सत्तारुढ दलहरूले दोहोरो चरित्र देखाइरहेको अध्यक्ष ओलिको दावि

९ फाल्गुन २०७८, सोमबार १८:२५
काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैँले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न लगाएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुङ्गा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृह मन्त्री बालकृष्ण खाणलाई प्रश्नसमेत गरे […]

सम्बन्धित