नेपालगञ्ज नाकाबाट भारत जानेको सङ्ख्या बढ्यो

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १४:४४
 

नेपालगञ्ज : नेपालगञ्ज भएर कामको खोजीमा भारत जाने नेपालीको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यसरी जानेमा पिठ्युँमा बालबालिका बोकेका महिलासमेत छन् ।

धान रोपाइँ सकिएपछि कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेपालीहरु कामका लागि भारत जाने गरेका हुन् । कतिपय नेपालीहरु नेपालगञ्जबाट भारतका विभिन्न शहरमा सञ्चालनमा रहेका यात्रुवाहक बसमार्फत पनि भारत जाने गरेका छन् ।

सुर्खेत सिम्ताका रामबहादुर थापाले विगत १२ वर्षदेखि भारतको गुजरातमा होटल मजदुरको रुपमा काम गर्दैआएको बताए । नेपालगञ्ज भन्सार कार्यालय नजिकैं भेटिएका थापाले भने, ‘वैशाखमा घर आएको थिएँ, अहिले फेरि कामका लागि साथीभाइसहित पुरानै ठाउँमा जान लागेका छौं ।’

पछिल्लो समय सीमानाकामा कडाइ गरिएपछि दैनिक किनमेलका लागि भारत जानेको सङ्ख्या घटेको भए पनि कामका लागि भारत जानेको सङ्ख्या भने बढेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।


इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले असार अन्त्यदेखि नै सीमानाका भएर भारत जानेहरुको सङ्ख्या बढिरहेको जानकारी दिए ।

नेपालीहरु समूह–समूहमा र एक्लाएक्लै पनि नाका भएर भारततर्फ जानेगरेको प्रहरीले जनाएको छ । जमूनाह प्रहरीको तथ्याङ्कअनुसार करिब तीन सयको हाराहारीमा नेपाली भारततर्फ दैनिक रुपमा जानेगरेको पाइएको छ ।

नेपाली यहाँ चाडपर्व मानेर तथा कामकाज सकेर मौसमी रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने प्रचलन छ । दशैं, तिहारको समयमा स्वदेश फर्किने नेपालीको सङ्ख्या अधिक हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा गाँजा खेती नष्ट गर्दै प्रहरी

५ श्रावण २०८०, शुक्रबार १४:४४
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि दिनअघि उक्त गाँजा नष्ट गरिएको रनियापुर प्रहरी चौकीले जानकारी दिएको छ । विगत लामो समयदेखि त्यहाँ आफैं उम्रिएका गाँजा […]