दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।
बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ ।
प्रतिष्ठानमा विस्तारित सेवा (इएचएस) शुरु हुने भएको छ । विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले बताए । उनले विस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले दु्रत गतिमा पाउने बताए ।
विस्तारित सेवा हरेक दिन दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने छन् । अस्पतालमा आउने बिरामीहरुले जनरल बाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा शुरु हुन लागेको उपकुलपति डा लामिछानेले जानकारी दिए ।
यसैगरी प्रतिष्ठानले पोषण पुनस्र्थापना गृहबाट ४२ कुपोषित बिरामीलाई उपचार सेवा दिएको जनाइएको छ । २०७० सालमा रु ६० लाखको लागतमा दुईतले भवन बनाएर पाँच वर्ष आफँैले चलाएर २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात् सञ्चालनमा ल्याउने प्रयास गरिए पनि २०७८ पुस १ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । पोषण पुनस्र्थापना गृहबाट साबिक राप्तीका दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको जानकारी गराइएको छ ।