डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं. ६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माणको अनुगमन गरिएको छ । आजदेखि कालोपत्रे गर्न शुरु गरिएको सडकको कपिलवस्तुका सांसद सिराज अहमद फारुकी, नेकपा एमालेका केन्द्रीय सदस्यद्वय पशुपति दयाल मिश्र र मोहम्मद हारुन तथा सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनीयर रामसागर हरिजनको टोलीले अनुगमन गरेको हो ।
ओभरलोड बोकेर टिपर गुडेका कारण ओटासिल सडकमा खाल्डाखुल्डी भएपछि करिब साढे १२ सय मिटर सडक कालोपत्रे गर्न लागिएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । उक्त सडकको छेउमा बस्ती रहेको किनारमा २ सय ५० मिटर पक्की नाली निर्माण गरिएको वडाध्यक्ष मिश्रले जानकारी दिए ।


अनुगमनका क्रममा एमालेका केन्द्रीय सदस्य मिश्रले सडक निर्माणको काम सन्तोषजनक रहेको धारणा व्यक्त गरे । तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त सडक निर्माणका लागि १ करोड बजेट विनियोजन गरेका थिए ।
जसअन्तर्गत ५७ लाख १७ हजार ३ सय ५६ रुपैयाँमा ठेक्का सम्झौता भइ काम शुरु भएको वडाध्यक्ष मिश्रले बताए । उक्त सडक निर्माणको जिम्मेवारी पाएको राप्ती गणेश कन्स्ट्रक्शनले काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
अनुगमन टोलीमा एमालेका गाउँ इकाई कमिटी अध्यक्ष ओरीलाल मुराउ, नेता अशोक थापा क्षेत्रीलगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।