सदरलाइनडटकम
१२ फागुन, नेपालगन्ज : स्वच्छ मासु उत्पादन र बजारीकरणका लागि राज्यले व्यावसायीलाई प्रोत्साहन र उनीहरुलाई अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।
फ्रेस हाईजिनिक फुड तथा मासु प्रशोधन केन्द्रको आयोजना तथा प्याक्ट नेपालको सहकार्यमा आयोजित मासु कटिङ्ग, प्रोसेसिङ्ग, भण्डारण, कोल्ड स्टोरेज सम्बन्धित ३ दिने तालिमको समापनका सहभागिले सो कुरा औल्याएका हुन ।
तालिमको समापन गर्दै खजुरा गाउपालिकाका उपाध्यक्ष एकमाया विकले तालिमका सहभागीलाई आफुले तालिमका सिकेको कुरा व्यवहारमा उर्तान आग्रह गरिन । उनले भनिन–‘खानपिनका बानी व्यहोरामा आएको परिवर्तनको कारणले विभिन्न रोग देखापरेकोले मानव जीवनमा अत्यन्तै असर पार्ने मासु जन्य पदार्थ उत्पादन र विक्रिबितरणको कुरालाई अत्यन्त संवेदनशील भएर व्यवसाय सञ्चालन गर्नुहोला ।’
फ्रेस हाईजिनिक फुड तथा मासु प्रशोधन केन्द्रका सञ्चालक दिपेन्द्र कुमार जोशीले आफुले स्वच्छ मासु उत्पादन र विक्रि बितरण गर्नको लागि आफु जस्तै अन्य व्यावसायी तयार गर्नको लागि एकल प्रयासमा हल्याण्डदेखि विज्ञ प्रशिक्षक बोलाएर तालिमको आयोजना गरेको बताए ।
उनले बंगुर, खसी, राँगो जस्ता जनावर कसरी बध गर्ने र कसरी मासु तयार गरेर उपभोक्ताको लागि बजारसम्म पठाउने विषयमा बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, कालिकोट, कपिलबस्तुलगायत ८ जिल्लाका १८ जना मासु व्यावसायी पहिलो चरणमा सहभागि रहेको जानकारी दिए ।
तालिमका सहभागि पदमबहादुर थापाले पहिला आफुहरुलाई जस्तो पनि पशु काटेर बेच्नै हतार हुने गरेकोमा तालिममा सहभागि भएर धेरै कुरा सिक्न पाईएको बताए । उनले भने–‘पशु काट्नु अघि त्यसको स्वास्थ्य परिक्षण गराउनु पर्ने, काटी सकेपछि सरसफाईमा ध्यान दिनुपर्ने र बेच्दा सकेसम्म फ्रोजोन (चिसो पारिएको ) मासु मात्र बेच्नु पर्ने जस्ता कुराहरु सिक्ने मौका पाईयो जुन हामी जस्ता व्यावसायीको लागि एकदमै उपयोगी हुने छ ।’
प्याक्ट नेपालका रामचन्द्र देवकोटाले कृषकको उत्पादनलाई बजारसम्म पुराउन र उनीहरुलाई कम लागतमा बढी फाईदा हुने प्रविधि भित्रयाउनको लागि आफहरुको सहकार्य भएको बताए । उनले बजारी करण र उत्पादनमा आफुहरुले सहायोग गर्दै आएकोले मासुको उत्पादन प्रशोधन र बजारीकरणमा यस क्षेत्रमा देखिएको ग्यापलाई हाईजेनिक फुडसंगको सहकार्यमा तालिम सञ्चालन गरिको स्पष्ट पारे ।
खजुरा गाउपालिका–७ सोनपुरमा आयोजना गरिएको सो तालिममा नेदरल्याण्डका मासु विज्ञ कोर केल्भामेरले काट्ने तरिका, टुक्राउने तरिका, खान हुने र नहुने मासुको पहिचान गर्ने तरिका, सरसफाई गर्ने तरिकाको बारेमा प्रशिक्षार्थीलाई सहजिकरण गर्दै आएका छन् ।