काठमाडौं : नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुनः विनोद पाण्डे सर्वसममत निर्वाचित भएका छन् । काठमाडौंमा बिहीबार राती सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले नेपाली सेनाका अवकाशप्राप्त जर्नेल पाण्डेलाई पुनः अध्यक्षमा सर्वसममत निर्वाचित गरेको हो ।
महाधिवेशनले उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सचिव (संगठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ) मा चन्द्रकुमार महतरा निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट ६ वटा आयोगले पनि नेतृत्व पाएको छ । लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन् । महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपोनले राष्ट्रका सुरक्षा समस्याहरु पहिचान गर्ने तथा समस्या न्यूनीकरणमा मद्दत गर्ने भूतपूर्वहरुको अभूतपूर्व क्षमतालाई सुरक्षा र विकासमा जोड्न पहल गर्ने प्रतिबद्धता जनाए । ‘राष्ट्रको सार्वभौमिकता र स्वाधीनतालाई अक्षुष्ण राख्दै सामाजिक मूल्य र मान्यतालाई दिगो बनाउनेलगायतका महत्वपूर्ण विषयमा हाम्रो संस्थाको महत्वपूर्ण भूमिका रहनेछ,’ पाण्डेले भने । पूर्वसुरक्षाकर्मीहरुको अनुशासन, ज्ञान, अनुभव, सीप, क्षमता र दृढ अठोट सुरक्षा र विकासका लागि महत्वपूर्ण साधन हुने उनले बताए ।


अध्यक्ष पाण्डे अवकाशप्राप्त सहायक रथी हुन । २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उनी पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले नेपोन भूतपूर्व सैनिक तथा प्रहरीको साझा चौतारी भएको बताए । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवं रक्षामन्त्री मानवीर राईले नेपोनले विपतको समयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले जीवनको ऊर्जाशील समय देशको सुरक्षामा खटेर बिताउनु सराहनीय भएको बताए ।
पार्टी पोलिट्ब्युरो सदस्य एवं संगठनका इन्चार्ज खेममान खड्काले २०४७ सालमा स्थापित भएको संस्था अहिलेको अवस्थामा आइपुग्नुले भूतपूर्व सुरक्षाकर्मीहरुको मतैक्यलाई उजागर गरेको धारणा राखे । कार्यक्रममा पोलिट्ब्युरो सदस्य एवं संगठनका पूर्वइन्चार्ज आनन्दप्रसाद पोखरेल, पार्टी केन्द्रीय सदस्य एवं संगठनका पूर्वइन्चार्ज यज्ञराज सुनुवार, पार्टी केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका नेता रचना खड्कालगायतको उपस्थिति थियो ।
त्यसअघि महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउन लाग्नुपर्ने निर्देशन दिएका थिए ।