खजुरा (बाँके) : लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको कुखुरा विकास फार्म खजुराले उत्पादन गरेका स्थानीय प्रजातिका कुखुराका चल्लाको माग बढ्दो रहेको छ ।
फार्मले अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरुको अनुसंधान र व्यवसायिक कृषकलाई प्राविधिक सेवा दिदै फर्मबाट चल्ला उत्पादन गरी किसानलाई व्यवसायिक रुपमा उपलब्ध गारउदै आएको छ ।
कुखुरा विकास फर्म खजुराले चालु आर्थिक वर्षको ९ महिनामा स्थानीय प्रजातिका चल्ला करिव १ लाख २० हजार उत्पादन गरि किसानलाई बितरण गरिसकेको जनाएको छ ।
बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले स्थानीय प्रजातिको कुखुराको अनुसंधान, संरक्षण, उत्पादनसंगै बजारिकरण सुरु गरेपछि व्यवसायिक कुखुरा पालक किसानको लागि यहाँबाट उत्पादन हुने चल्ला पहिलो रोजाई बनेको बाँके खजुरा–४ डि गाउका बिरबहादुर गुरुङ्गले बताए ।
स्थानीय प्रजातिका कुखुराका चल्ला कुखुरा विकास फार्म खजुराबाट लिएर पाल्न सुरु गरेको बताउदै कम मूल्यमा धेरै नाफा हुने गरेकोले बोईलर पाल्न छाडेको उनको भनाई थियो । उनले आफ्नो फर्म गुरुङ्ग पोल्ट्री फर्मलाई ब्रुडर किसान फर्मको रुपमा सूचिकृत गराई फर्मबाट उत्पादन भएका चल्ला १२ हप्तासम्मको हुर्काएर फर्मले तोकेको मूल्यमा बिक्रि गर्दै आएको जानकारी दिए ।
हिमालय पोल्ट्री फर्म जुम्लाका ललितजंग महतले स्थानीय प्रजातिका कुखुराको बजारमा अधिक माग भएको, अन्य कुखुराको तुलनामा चल्ला सस्तो, मृत्युदर न्यून हुने हुँदा यसबाट फाईदा हुने गरेकोले बोईलर कुखुरा पाल्न छोडेर यहाँका कुखुरा पाल्न थालेको प्रतिक्रिया दिए ।


उनले भने–‘ पाल्न सजिलो छ । रोग पनि त्यति लाग्दैन, खुला छाडेर पनि हुकाउन सजिलो र बजार मूल्य पनि राम्रै पाईने भएकोले अरु कुखुरा पाल्न छाडेर स्थानीय प्रजातिकै कुखुरा पाल्न थालेको हु ।’
फर्मका प्रबन्धक डा.सुमन खनालले कुखुरा विकास फर्मले स्थानीय रैथाने जातिको संरक्षण गरी उत्पादन भएका चल्ला किसानसम्म पुराउने लक्ष अनुरुप ७ जातका घाँटीखुईले, उल्टे, साकिनी, खजुरा साकिने, कडकनाथ, ब्ल्याक अस्टलोप र न्यू हेम्पसार जातिका कुखुरा र रिङ्गनेक कालिजको संरक्षण गरी चल्ला उत्पादन गर्दै आएको जानकारी दिए ।
स्थानीय कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरु जस्तै कालिज, बट्टाईको अनुसंधान र कृषकलाई प्राविधिक सेवा प्रवाह गर्ने गरेको उनले बताए ।
चालु आर्थिक वर्षको चैत्र ३१ गतेसम्म फर्मबाट १ लाख १९ हजार ७ सय चल्ला उत्पादन भई सकेको छ । दैनिक उत्पादन हुने अण्डा, एकदिने चल्ला केही प्यारेन्ट कुखुरा र कुखुराको मलविक्रि बितरणबाट चैत्र मसान्तसम्म ६९ लाख ८५ हजार रुपैया आम्दानी गर्न सफल भएको फर्मका प्रबन्धक डा.खनालले जानकारी दिए ।
उनले फर्मबाट उत्पादन भएका एकदिने चल्लाको बजारीकरणको लागि ढुवानी पिकअप समेत सञ्चालनमा आएकोले अब भने सहज हुने अपेक्षा राखे ।
फर्मबाट हरेक साताको सोमबार चल्ला निकाल्ने गरिएको छ । कुखुरा विकास फर्म खजुरा मै उत्पादित अण्डाबाट निकालिएको एक दिनका चल्ला सिधै फर्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत बिक्रि बितरणको व्यवस्था मिलाइएको छ ।
फर्मले जिल्लाका ७ वटा पोल्ट्री फर्मलाई ब्रुडर किसानको रुपमा सूचिकृत गरेको छ । लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको देश कै एक मात्र कुखुरा विकास फर्म खजुराबाट लोकल र स्थानीय जातका कुखुराको व्यवसायिक उत्पादन तथा संरक्षणमा समेत ठूलो योगदान पुराउदै आएको छ ।