स्वास्थ्य संयोजककी श्रीमतीनै नक्कली स्वास्थ्यकर्मी

सदरलाइन संवाददाता १८ असार २०८०, सोमबार १३:२३
 

बैतडी : पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । उनले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ ।

पुख्र्यौली घर जनकपुर भएपनि विगत १७ वर्षदेखि बैतडी बस्दाबस्दै श्यामाले स्थानीय बिरामीसँग बैतडेली र डोटेली भाषा बोल्ने गरेको पाइएको छ । श्यामाले नै बिरामीको रगत तानेर ल्याबमा परीक्षण गर्ने गरेको बताइएको छ । उनमा स्वास्थ्य उपचार तथा औषधीसम्बन्धी कुनै शिक्षा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले स्थानीयको जनगुनासोपछि गत जेठ २ गते मेडिकल सिल गरेको थियो । प्रशासनले सिल गरेको मेडिकल पुनः सञ्चालन गरी बिरामीलाई सुई लगाउँदा लगाउँदै प्रहरीले श्यामा साहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले प्रशासन कार्यालयले अवैध ठहर गर्दै सिल गरिएको श्यामा क्लिनिक पुनः सञ्चालन गरेको पाइएपछि सञ्चालक श्यामालाई पक्राउ गरिएको बताए ।


छैटौँ तहका सिनियर अहेव रामसागर साह विगत २७ वर्षदेखि पञ्चेश्वरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहँदै आएका छन् । स्थानीय तहको पुनर्संरचनापछि साहले गाउँपालिका स्वास्थ्य संयोजकको जिम्मेवारी पाएका हुन् ।

साहले पालिकाको स्वास्थ्य क्षेत्रको अनुगमन, नियमन तथा व्यवस्थापन गर्नुपर्ने दायित्व पाएपनि आफैले श्रीमतीको नाममा गैरकानुनी काम गर्दै आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । “श्रीमती पक्राउ परेपछि स्वास्थ्य संयोजक साह स्वास्थ्य कार्यालयमा आएर रुँदै छन् । पटकपटक सचेत गराउँदा मानेनन्, अब रोएर के हुन्छ ?,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीका १३८ युवायुवतीलाई सीपमूलक तालिम

१८ असार २०८०, सोमबार १३:२३
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाका नौ वटै वडाका १ सय ३८ जना युवायुवतीलाई एकैपटक विभिन्न आधारभूत सीपमूलक तालिम दिइएको छ । सीपमूलक तालिम दिएर आत्मनिर्भर गराउने उद्देश्यले एकैपटक ठूलो संख्यामा युवायुवतीलाई तालिम दिइएको हो । हातमा कुनै सीप नहुँदा आत्मनिर्भर हुन र रोजगारी पाउन समेत समस्या हुने भएकाले सीपमूलक तालिम […]