२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

अपाङ्गता भएका लागि घुम्ती स्वास्थ्य शिविर



नेपालगञ्ज : कोहलपुर नगरपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, बनेपा काठमाण्डौको संयुक्त आयोजनामा कोहलपुरमा अपाङ्गता भएका बालबालिकाका लागि घुम्ती स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट अपाङ्गता भएका बालबालिका लाभान्वित भएका छन् ।

सो शिविरमार्फत उपचारसँगै सहायक सामग्री समेत वितरण गरिएको छ । कोहलपुर नगरपालिका –१५ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र अकलघरुवामा आयोजना गरिएको सो घुम्ती स्वास्थ्य शिविरमा ६९७ जना अपाङ्गता भएकाले स्वास्थ्य सेवा लिएको अस्पताल व्यवस्थापक प्रकाश यादवले जानकारी दिए ।

उक्त शिविरमा सेवा लिएकामध्ये २४ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरिएको उनले बताए । अस्पताल व्यवस्थापक यादवका अनुसार तीमध्ये तीन जनालाई ह्विलचियर वितरण गरिएको छ । चार जनालाई वैशाखी र दुई जनालाई वाकर वितरण गरिएको छ ।

शिविरमा सेवा लिन आएकामध्ये १२ जनाको शल्यक्रिया हुने उनको भनाइ छ । अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत विनिता खड्काले उनीहरुलाई अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र वनेपामा रिफर गरिएको बताए ।

अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको शिविरमा फिजियोथेरापी सेवासँगै औषधि समेत निःशुल्क वितरण गरिएको छ । सामान्य स्वास्थ्य, हाडजोर्नी र नशा रोग तथा पुनःस्थापनासम्वन्धी आयोजित घुम्ति अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत खड्काले शिविरमा अर्थोपेडिक सर्जन डा. यकराज गुरुङसहितको मेडिकल टिमले अपाङ्गता भएकाको स्वास्थ्य चेकजाँच, परामर्श तथा उपचार सेवा प्रदान गरेको बताए ।

प्रकाशित मिति : २०८० जेठ २६ गते शुक्रबार
ताजा समाचार