बाँके राष्ट्रिय निकुञ्जमा बोरिङसहितका पोखरी

सदरलाइन संवाददाता १७ जेष्ठ २०८०, बुधबार १३:२६
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जमा पानीको अभाव टार्नका लागि धमाधम कृत्रिम पोखरी निर्माण गरिएका छन् । वन्यजन्तुलाई पानी खुवाउनका लागि सिमसार क्षेत्रको संरक्षणदेखि बोरिङसहितका पोखरी निर्माण गरिएको छ । कतिपय पोखरीमा सोलार जडान गरिएका छन् ।

बाघ संरक्षणका लागि स्थापना गरिएको यो निकुञ्जमा ८० वटा पोखरी निर्माण भइसकेको छ । बाँके राष्ट्रिय निकुञ्जमा अहिले २५ वटा बाघ छन् । यहाँ संरक्षित जनावर चौका प्रशस्त छ । आहारा प्रजातिका जनावरको वृद्धि भइरहेको छ ।

निकुञ्जमा घाँसे मैदान बनाइएको छ । पानी, घाँस र आहारा प्रजातीका जनावरको बृद्धिले निकुञ्जको सौन्दर्य बढाएको छ । निकुञ्जभित्रको छोटो यात्रामै जनावर देखिने गरेको छ ।

निकुञ्जभित्र पानी बग्ने ४५ वटा खहरे खोला पर्छन् । यो खहरे खोलामा वर्षायाममा मात्रै पानी हुन्छ । हिउँदमा सुख्खा हुन्छन् । निकुञ्जमा पानीको अभाव ठूलो समस्याको रूपमा रहँदै आएको छ । निकुञ्ज आफैले पानीको समस्या समाधान गर्न लागि परेको छ ।

संरक्षणमा काम गर्ने तराई भूपरिधि कार्यक्रम (ताल) जस्ता आयोजनाले निकुञ्ज र मध्यवर्तीमा पोखरी बनाउन सहयोग गरेको छ । तालका कार्यक्रम सहप्रवन्धक कमराज राईले वातावरण, वन्यजन्तु संरक्षण, जैविक विविधतामा निकुञ्जसँग मिलेर काम गरिरहेको बताए ।


तालले गतवर्ष निकुञ्जलाई ४० लाख बराबरको सहयोग गरेको थियो। त्यसमा तीन वटा पोखरी निर्माण गरिएको छ ।

२०६७ सालमा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा ८० वटा पोखरी, दुई सय किलोमिटर वनपथ, चार सय हेक्टरमा घाँसे मैदान रहेको वार्डेन श्यामकुमार साहले जानकारी दिए ।

यो निकुञ्ज ५७ औँ पर्यटकीय गन्तव्यमा सूचीकृत रहेको छ । प्रचार प्रसारको अभावले अहिलेसम्म पर्यटकको उपस्थिति भने बढेको छैन ।

वन्यजन्तुलाई संरक्षण गर्ने उपायहरू अपनाइरहदा सवारी साधनको ठक्करबाट मृत्यु हुने क्रम रोकिएको छैन । आर्थिक वर्ष २०७८–७९ मा ५१ वटा जनावरको मृत्यु भएको थियो। ४३ वटाको उद्धार गरिएको छ ।

यो निकुञ्ज ७० किलोमिटर पूर्वपश्चिम राजमार्ग र २३ किलोमिटर रत्न राजमार्गमा पर्दछ । निकुञ्जभित्र प्रतिघण्टा ४० किलोमिटरको हिसाबले सवारी चलाउने नियम लगाइएको छ । तर पनि जनावर सवारी साधनको जोखिममा पर्ने गरेका छन् । निकुञ्जमा डढेलो अर्को समस्याको रूपमा रहेको छ । मध्यवर्ती क्षेत्रका उजाड जमिनमा वृक्षरोपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झाडापखालाले बर्दियामा बालबालिका प्रभावित

१७ जेष्ठ २०८०, बुधबार १३:२६
बर्दिया : अत्यधिक गर्मीका कारण बर्दियामा बालबालिका झाडापखालाबाट प्रभावित बन्दै गएका छन् । विशेषगरी १० वर्षमुनिका बालबालिका झाडापखाला, आउ पर्ने र पेट दुःख्ने समस्याले जिल्ला अस्पतालमा दैनिक दर्जनौं उपचारका लागि आउने गरेका छन् । दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको बर्दियामा सबैभन्दा बढी बालबालिका बिरामी पर्न थालेको बालरोग विशेषज्ञ डा. […]