बाँकेका ८ सहकारीले एकीकृत कारोबार गर्ने

सदरलाइन संवाददाता २ जेष्ठ २०८०, मंगलवार १२:४६
 

नेपालगञ्ज : बाँकेका ८ वटा सहकारीले एकीकृत कारोबार गर्ने भएका छन् । कोराना महामारी पछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु राम्रो तरिकाले सञ्चालन हुन नसक्दा सोमबार बाँकेको शमशेरगञ्जमा साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपरीको अगुवाइमा बाँकेका ८ वटा साना किसान सहकारी संस्थाहरु अष्टम साना किसान कृषि सहकारी संस्थाका रुपमा एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा सानाकिसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरी राप्तीसोनारी–८ बाँके, लगनशील सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ–६ बाँके, महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ–८ बाँके, त्यसैगरी सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी संस्था लिमिटेड राप्ती सोनारी–४ बाँके, सौगात सानाकिसान कृषि सहकारी संस्था लिमिटेड राप्तिसोनारी ५ बाँके, नवज्योति सानाकिसान कृषि सहकारी संस्था लिमिटेड खजुरा–२ बाँके, हातेमालो सानाकिसान कृषि सहकारी संस्था लिमिटेड खजुरा ८ बाँके र आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था लिमिटेड जानकी ६ बाँके रहेका छन् ।

अष्टम सानाकिसान कृषि सहकारी संस्था लिमिटेडमा बाँकेका आठ ओटा सहकारी संस्था एकीकरण भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासद तथा पूर्व वन तथा वातावरणमन्त्री दर्गा चौधरीले नामको लागि मात्र किसान बन्ने खेत बाँझो राखेर किसान बन्ने परिपाटिका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए ।

‘किसान हुँ भन्ने तर आफ्नो भान्साका लागि खाने तरकारी तेलसम्म किनेर खाने किसानका कारण उत्पादन बढन सकेको छैन,’ सभासद चौधरीले भने, ’हाम्रो उत्पादन के हो ? उत्पादनको प्रयोग कति भएको छ ? सहकारीले त्यो कुराको मूल्यांकन गर्न आवश्यक छ । अनुत्पादक क्षेत्रमा लगानी गरेर फाइदा छैन देश टाट पल्टिने सम्भावनामा पुगिसकेको छ । त्यसैले उत्पादन बढाउने कुरामा लगानी बढाउन जरुरी छ ।’

किसानले आफनो उत्पादन नबढाए सम्म बजारीकरण नहुँदा सहकारीहरु फस्टाउन सकेका छैनन् । जसका कारण राज्यले पनि कृषि र सहकारीमा लागनी बढाउन नसकेको स्वीकार गरे ।

सहकारीको दिगोपन स्वनियम र सुशासन भन्ने मूल नारामा आयोजना गरिएको एकीकरण घोषणा कार्यक्रममा नेपाल कृषि संघका उपाध्यक्ष पूर्ण शर्माले संघीयताले सहकारीको घाँटी निमोठिएको बताए । अधिकांश सहभागीले सहकारीप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको हुनाले नै सहकारीपछि परेको उनको भनाइ थियो ।

अधिकाशं वत्ताले लुम्बिनी प्रदेश सरकारले सहकारीलाई गरेको व्यवहार सकारात्मक नभएको गुनासो व्यक्त गरेका थिए । सहकारीलाई समाजमा जोगाइ राख्न सरकारले ध्यान दिन आवश्यक रहेको सहभागीहरुको भनाइ थियो ।


जिल्ला कृषि सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाहले सहकारीले महिलाको परिचय बनाएको बताउँदै सहकारीको ठूलो जिम्मेवारी महिलाकै काँधमा रहेको बताइन् ।

पलायन भएर जानुभन्दा एकीकरण भएर अगाडि बढ्नुमा सहकारीको विकासको अर्को सफलता भएको खजुरा गाउँपालिका वडा नं. २ का धनराम वलीले बताए ।

सहकारी सञ्चालनका लागि आधिकारिकता प्रदान भएको बताउँदै स्थानीय सरकारले पनि सहकारी सञ्चालनका लागि बजेट छुट्टयाउन आवश्यक रहेको बताए । यसका साथै उनले चुनौतीले घेरिएको सहकारीलाई माथि उठ्न इमानदारिता कायम गरेर अगाडि बढ्न सुझाव समेत दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारी राज्यको प्रतिस्पर्धी नभइ राज्यको सहयोगी मात्र भएको बताउँदै राज्यलाई आफ्नो प्रतिस्पर्धीका रुपमा सहकारीलाई नलिन आग्रह गरे । यसका साथै उनले सहकारीको अभियान बजारीकरणको प्रशोधन र प्रवर्द्धनमा सहयोग पु¥याएको दाबी गरे । स्थानीय सरकारबाट सहकारीलाई बजेट विनियोजन नभएको गुनासो गर्दै उनले सरकारीलाई पैसा भन्दा पनि पैसाद्वारा सञ्चालित कार्यक्रमहरु सञ्चालनमा जोड दिन आग्रह गरे ।

साना किसान सहकारी बाँकेमा १५ वटा छन् । एकैपटक यति धेरै सहकारी संस्थाहरु मर्ज भएको यो पहिलो हो ।

एकीकरणपछि बनेको अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडका सेयर सदस्य १० हजार ५०५, सेयर पुँजी १० करोड ११ लाख रुपैयाँ, बचत ५९ करोड ६३ लाखर रुपैयाँ, जगेडा कोष १ लाख १८ हजार ९ सय २३ रहेको सहकारीका मुख्य प्रबन्धक व्यवस्थापक हरिश केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनशनरत सांसद गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै

२ जेष्ठ २०८०, मंगलवार १२:४६
बर्दिया : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य र पूर्वसिंचाईमन्त्री सञ्जयकुमार गौतमको स्वास्थ अवस्था जोखिममा रहेको चिकित्सकले बताएका छन् । प्रेसरका बिरामी भएका गौतम चार दिनदेखि आमरण अनशनमा बसेका छन् । जिल्ला अस्पताल, बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयका अनुसार प्रेसरका बिरामी चार दिनसम्म खाना नखाँदा सांसद गौतमको स्वास्थ्य […]