सदरलाइनडटकम,
डुडुवा (बाँके) : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तीसहित बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्ती पुलबाट प्रहरीले आइतवार भारतबाट ल्याउदै गरेको अवैध सुर्तीजन्य सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय कम्दीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्त नेतृत्वको टोलीले डुडुवा ४ राप्तीपुलमा जाँचका क्रममा मोटरसाइकलमा राखेर दूध बोक्ने भाडोमा लुकाएर ल्याएको १०० पोका सुपरपावर सुर्ती बरामद गरेको छ ।
सुर्तीसँगै प्रहरीले भे ४ प ५७६७ नम्बरको मोटरसाकल र दुईजनालाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक पन्तले बताए । सुपरपावर सुर्तीको अहिले बजारमा कालोबजारी समेत धेरै भइरहेको छ । बजारमा अहिले उक्त सुर्तीको लुकिछिपी एक प्याकेटको ३५ देखि १०० रुपैयाँसम्म बिक्री हुने गरेको पाइन्छ ।
