देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

सदरलाइन संवाददाता ५ पुष २०८१, शुक्रबार १४:४४
 

नेपालगञ्ज :  दैशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

उनले भने– ‘सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रुपमा बाघ कति छन् र त्यसको आहारा प्रजातिको अवस्था कस्तो छ भनेर स्पष्ट हुन खोजिएको हो ।’ प्रमुख संरक्षण अधिकृत कँडेलले बाँकेमा सर्वेक्षण काम सकिएपछि बर्दियामा बाघ र बाघको आहारा प्रजातीको सर्वेक्षण सुरु गरिने जानकारी दिए ।

निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले बाँके राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण सुरु गरिएको बताए । उनले सर्वेक्षणबाट निकुञ्जमा रहेका बाघको संख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको जानकारी हुने भएकाले त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताए ।

प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जानकारी दिँदै सूचना अधिकारी पंगेनीले बाँकेपछि बर्दियामा सुरु हुने सर्वेक्षणले बाघ संरक्षणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।


उनले बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा जडान गरेर काम गरिएको बताए । क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशासम्बन्धी तथ्यांकसमेत संकलन हुने छ ।

बाघको आहारा प्रजातीमा बाँके राष्ट्रिय निकुञ्जमा चित्तल, बँदेल, चौका, निलगाई, जरायोलगायत पर्छन । सर्वेक्षणका लागि निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार यसलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जमा १०९ स्थानमा स्वचालित क्यामेरा जडान गरिएको छ । निकुञ्जको पश्चिम क्षेत्र कोहलपुर, खडकबार, बुचापुरबाट सर्वेक्षण सुरु गरिएको छ । त्यसका लागि १६ देखि २० जना प्राविधिक कर्मचारीले ८० दिनसम्म जङ्गलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पछिल्लो समयमा आएर दुवै निकुञ्जको नजिक रहेका बस्तीमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौंः मुख्यमन्त्री आचार्य

५ पुष २०८१, शुक्रबार १४:४४
रुपन्देही :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले […]

सम्बन्धित