प्रधानमन्त्रीविरुद्धको भ्रामक प्रचार, दोषी माथि कारबाही गर्न प्रेस चौतारीका महासचिव लामाको माग

सदरलाइन संवाददाता ३ पुष २०८१, बुधबार २०:५०
 

काठमाडौं ः नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गरेका छन् ।

नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध सामाजिक सञ्जाल मार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेको र सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरे पछि महासचिव लामाले कारबाहीको माग गरेका हुन ।

मंगलबार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहेका प्रधानमन्त्री ओली काभ्रे गएको र उनी माथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जाल मार्फत भ्रम फिँजाउने कोसिस भएको छ । प्रधानमन्त्री ओली मंगलबार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी थिए ।


प्रधानमन्त्री ओलीको आज काभ्रेमा कुनै कार्यक्रम नरहेको र उनी त्यहाँ नगएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । यसले यो कार्य उनी र एमाले विरुद्ध फैलाइका भ्रम हो भन्न पुष्टि भएको छ ।

प्रेस चौतारी नेपालका महासचिव काभ्रेका पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज काभ्रेपलाञ्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताए । ‘सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरू उपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु’, लामाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *