बर्दिया : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य र पूर्वसिंचाईमन्त्री सञ्जयकुमार गौतमको स्वास्थ अवस्था जोखिममा रहेको चिकित्सकले बताएका छन् । प्रेसरका बिरामी भएका गौतम चार दिनदेखि आमरण अनशनमा बसेका छन् ।
जिल्ला अस्पताल, बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयका अनुसार प्रेसरका बिरामी चार दिनसम्म खाना नखाँदा सांसद गौतमको स्वास्थ्य अवस्थालाई जोखिम भएको मानिन्छ । अहिलेसम्म ठिक भए पनि अवस्था क्रिटिकल भए यहाँ उपचार सम्भव हुँदैन,’ उनले भने, ‘हामीले नियमित चिकित्सकको टोली पठाई स्वास्थ्य परीक्षण गरिरहेका छौं ।’ सांसद गौतमले आमरण अनशन बसेका कारण शरीरमा कमजोर महसुस हुनु स्वाभाविक भएको बताए ।
बबई नदीको जब्दीघाट आसपासमा नयाँ पुल निर्माणलगायत १५ सूत्रीय माग राख्दै वैशाख ३० गतेदेखि उनी आमरण अनशनमा बसेका छन् । उनको सत्याग्रह अभियानमा ऐक्यबद्धता जनाउँदै दिनहुँ दर्जनभन्दा बढीले २४ घण्टे रिले अनशन पनि जारी राखेका छन् ।
पुल क्षतिग्रस्त भएको करिब ६ वर्ष बित्न लागेको छ । पुल क्षति भएपछि यहाँ आउने मन्त्रीदेखि सडक विभागका कर्मचारीले भोलीबाटै निर्माण प्रक्रिया अघि बढाउने भन्दै आएको सांसद गौतमले बताए । उधारो सम्झौतामा विश्वास छैन,’ उनले भने, ‘बबई नदीस्थित जब्दीघाट नजिक नयाँ पुलको ठेक्का सम्झौतालगायतका माग पूरा नभएसम्म आमरण अनशन जारी राख्छौं ।’