सल्यान : सल्यानमा गाईभैँसीमा ‘लम्पी स्किन’ रोग संक्रमण तीव्ररूपमा फैलिएको छ । यो रोगबाट हालसम्म जिल्लामा १५० भन्दा बढी पशु चौपाया मरिसकेका छन् ।
कालीमाटी गाउँपालिकाबाट शुरु भएको रोग अहिले सबै पालिकामा फैलिएको छ । खेतीपातीको सिजन सुरु हुनै लाग्दा रोगबाट पशुचौपाया मर्न थालेपछि किसान चिन्तितछन् । गाउँघरका सबै गाईगोरुमा रोग फैलिएको छ । गाईगोरुमा मात्र देखिएको रोग पछिल्लो समय भैँसीमा समेत देखिन थालेको किसानहरुको भनाइ छ ।
यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुन्छ । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।
यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्ने कार्यालयले जनाएको छ । जिल्लामा भ्याक्सिन अभाव भएपछि काठमाडौंबाट मगाएर औषधी उपचार गर्ने प्रयास भइरहेको कार्यालयकोे भनाइ छ ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्छ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्न र सरसफाइमा ध्यान दिन कार्यालयले भनेको छ ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यानमा यो रोगको संक्रमण बढी फैलिए पछि प्रदेशबाट विज्ञ टोली आएर समेत रोगका बारेमा जानकारी समेत लिएको छ । जिल्लाका संक्रमण फैलिएको स्थानबाट नमुना संकलनको काम भइरहेको छ ।
तीव्ररूपमा रोग फैलिएपछि कर्णाली प्रदेश सरकारले भ्याक्सिन खरिद प्रक्रिया अघि बढाएको छ ।