नेपाल पुलिस क्लब पहिलो लुम्बिनी कपको उपाधि नजिक

सदरलाइन संवाददाता ९ बैशाख २०८२, मंगलवार २२:५३
 

नेपालगञ्ज : विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६-५ ले निरास बनाउँदै नेपाल पुलिस क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

मंगलबार बाँकेको नेपालगञ्ज रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलको निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउट पनि ४-४ को बराबरी भएपछि खेल सडनडेथमा पुग्यो । तीन पेनाल्टी बचाएकी पुलिसकी गोलकिपर उषा नाथ खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।

पेनाल्टीमा पुलिसका लागि रेविका पाण्डे, उषा , निरु थापा, सुस्मा तामाङ, अनुस्का शेर्पा र अमृता जैशीले गोल गरे । मोनिका पुलामी मगर र मिना देउवाको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले बचाउँदा समिक्षा घिमिरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

आर्मीको लागि तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, विमला विक र सुखरिया सुख्खुले गोल गरेका थिए । अञ्चली वाइवा, सुनिता चौधरी र इन्दिरा राईको प्रहारमा उषा बाधक बन्दा चन्द्रा भण्डारीको प्रहार बाहिरिएको थियो ।


पुलिसले उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र रौतहट फुटबल संघबीचको विजेतासँग शुक्रबार गते प्रतिस्पर्धा गर्नेछ । एपिएफ र रौतहटको खेल बुधबार हुनेछ ।

खेलको २८औं मिनेटमा मिना देउवाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । अमृता जैसीको फ्रिकिक प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा गोल लाइनबाट मिनाले बललाई सहजै पाेस्टकाे दिशा दिइन्।

तुलसा बोहराले ८०औं मिनेटमा आर्मीलाई बराबरीमा ल्याइन् । वैकल्पिक खेलाडी तुलसाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरिन् । सहारा लिम्बुले ह्यान्ड गरेपछि आर्मीले फ्रिकिक अवसर पाएको थियो ।

आर्मीले सुदूरपश्चिम प्रदेश संघ र पुलिसले भारतको सिलगुढी फुटबल क्लबलाई समान ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित

९ बैशाख २०८२, मंगलवार २२:५३
नेपालगन्ज : कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका […]