बाजुरामा आँखा शिविर : ज्येष्ठ नागरिक खुशी

सदरलाइन संवाददाता २६ बैशाख २०८०, मंगलवार १५:१७
 

बाजुरा : बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुशी ल्याएको छ । दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो ।

आर्थिक अभावका कारण राम्रो ठाउँमा गएर आँखाको उपचार गर्न नसकेका बाजुराका ज्येष्ठ नागरिकको वैशाख २१ देखि २६ गतेसम्म गाउँमै सञ्चालन भएको आँखा शिविरमा राम्रो सुविधा पाएका हुन् । गाउँमै सञ्चालन भएको यो शिविरमा आँखाको अप्रेशन हुँदा निकै खुसी भएको बुढीनन्दा नगरपालिका–१ की स्थानीय ज्येष्ठ नागरिक रमिला विष्टले जानकारी दिइन् ।

दुर्गम बस्तीका दलित, महिला तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गर्ने गरी निःशुल्क रुपमा आँखा शिविर सञ्चालन गरिएको आँखा उपचार केन्द्र बाजुराले जनाएको छ । मोतिबिन्दु रोगका कारण कयौँ ज्येष्ठ नागरिक आँखा नदख्ने समस्या भोग्दै आएका थिए । सोही समस्याको समाधान गर्ने गरी स्थानीय तहको समन्वयमा शिविर सञ्चालन गरिएको आँखा उपचार केन्द्र बाजुराका नेत्र साहायक चक्र खड्काले जानकारी दिए ।


वैशाख २१ देखि २२ गतेसम्म बुढीगङ्गाको टाँटे स्वास्थ्य चौकीमा सञ्चालन गरिएको आँखा शिविरमा ११७ जनाको आँखाको अप्रेसन गरेका छन् । त्यसैगरी वैशाख २४ देखि २६ गतेसम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा झण्डै दुई सय बढीको आँखाको अप्रेशन भएको खड्काले बताए ।

शिविरमा नाम दर्ता गरेका धेरै जसोको आँखामा सामान्य समस्या भए पनि आँखा नदेख्नेको अप्रेसन नै भएको छ । आँखामा मोतिविन्दु तथा चोटपटक लागेर पनि आर्थिक समस्याका कारण उपचार गर्न नसकेकालाई यो शिविरले निकै सहज बनाएको छ ।

शिविरमा सहभागी भएका आँखाका बिरामीमध्ये सबै भन्दाबढी मोती बिन्दुको समस्या देखिएको डा. इस्मद अधिकारीले जानकारी दिए । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाले आँखाको अप्रेशनका लागि शिविरमा जाने आँखाका बिरामीलाई निःशुल्क रुपमा यातायातको सुविधा दिएको थियो । आर्थिक स्थिति कम्जोर भएका कारण कोल्टी शिविरमा जान नसक्नेलाई सहज हुने गरी गाउँपालिकाले निःशुल्क यातायात सेवा प्रदान गरिएको जगनाथ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गौरी सार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

२६ बैशाख २०८०, मंगलवार १५:१७
काठमाण्डौ : भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २०–२५ जना घाइते भएका छन् । खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा […]