नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा लगियो

सदरलाइन संवाददाता ९ बैशाख २०८०, शनिबार १४:५९
 

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुर्याइएको छ ।

शुक्रवार सोही ठाउँकी गंगादेवी चन्दलाई बाघले झम्टेर मारेपछि शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले शनिवार बिहान बाघलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित खोरमा राखिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वा कहाँ छाड्ने भनेर निर्णयका लागि विभागलाई पत्राचार गरिएको छ । त्यहाँबाट निर्णय आएपछिमात्रै छोड्ने ठगुन्नाले बताए । नरभक्षी सो बाघ करिब ६ वर्षको पोथी रहेको जनाइएको छ । शुक्रवार खप्टीनाला क्षेत्रमा घाँस काट्न गएकी चन्दलाई झम्टेर झाडीमा लगेको थियो । चन्दसँगै घाँस काट्न गएका अरु महिला भने भागेर ज्यान जोगाएका थिए ।


बाघले बिहान महिलालाई झम्टेर बेपत्ता पारेपछि बाघलाई नियन्त्रणमा लिनका लागि शुक्रवार रातीबाट नै प्राविधिक टोली खटेको थियो । ‘हिजो नै नियन्त्रणमा लिने प्रयास गरिए पनि राति परेकाले सम्भव भएन’, निमित्त प्रमुख संरक्षण अधिकृत ठगुन्नाले भने,‘‘हिजो सम्भव नभएपछि आज बिहानै प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो ।’’ बाघले झम्टेर लगेको चन्दको शव शनिवार बिहान फेला परिसकेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा चैतदेखि नै बाघको त्रास रहेको थियो। गत चैत १० गते भारतको दुधुवा नेशनल पार्क क्षेत्रमा पुनर्वास नगरपालिका–१० मदन टोलकी कलसा सार्कीको बाघले ज्यान लिएको थियो । त्यसको केही दिन पछिमात्रै कञ्चनपुरको बेलौरी नगरपालिका–१ नजिक रहेको सीमावर्ती भारतीय गाउँ कृष्णनगरकी एक महिलाको पनि बाघले ज्यान लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमृतपाल सिंह भारतको पञ्जाबबाटै पक्राउ

९ बैशाख २०८०, शनिबार १४:५९
नेपालगञ्ज : खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन् । पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार उनी आइतवार विहान पक्राउ परेका थिए । नेपालमा आएको भन्दै भारत सरकारले खोजी गरिदिन आग्रह […]