सदरलाइनडटकम,
जानकी (बाँके) : २८औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर बाँकेको जानकी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिलाई घरमै पुगेर न्यानो कपडा र फलफूल वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष रामनिवास यादवले हिँडडुल समेत गर्न नसक्ने अवस्थामा रहेका फरक क्षमताका व्यक्तिलाई दिवसको अवसरमा न्यानो कपडा र फलफूल वितरण गरिएको जानकारी दिए ।
उनले गाउँपालिकाका छ वटै वडा कार्यालयसँगको समन्वयमा फरक क्षमता भएका व्यक्तिलाई ओढ्ने न्यानो कपडा (कम्वल) र फलफूल वितरण गरिएको बताए ।
गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले दिवसमा अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यका साथ न्यानो कपडा र फलफूल वितरण गरिएको बताईन ।
गाउँपालिका अन्तर्गतका सबै सार्वजनिक कार्यालय, भवन, सार्वजनिक शौचालय अपाङ्गतामैत्री बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्ने गरी विकासका योजना बनाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसलाई ¥याली र भाषणमा मात्र सीमित नराखेर नारा अनुसार काम गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको अन्य नागरिकसरह बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी कार्य गर्न गाउँपालिका प्रतिवद्ध रहेको उनले जानकारी दिनुभयो ।
जानकी गाउँपालिकाका छ वटा वडामा दुई सय ९६ अपाङ्ग रहेका छन् । ती मध्ये पूर्णरुपमा अपाङ्ग रातो कार्ड प्राप्त ३८ जना रहेको गाउँपालिकाका सूचना अधिकृत विकास जिसीले जानकारी दिए ।