बाँकेको खजुरामा अधिकांश गौरवका योजना अधुरै

सदरलाइन संवाददाता १७ चैत्र २०७९, शुक्रबार १३:०६
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा २०७८ साल भदौं ३० गते सम्पन्न हुने गरी निर्माण शुरु भएको शित भण्डार अझै अधुरो रहेको छ । रविना/अभियान/जुगल जेभी तिनकुनेले ६ करोड १४ लाख रुपियाँको लागतमा निर्माणको जिम्मा लिएको भएपनि पालिकाको गौरवका आयोजनाको काम सम्पन्न हुन सकेको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार पालिकामा सञ्चालित अधिकाँश गौरवका आयोजनाको निर्माणमा ढिलाई भएको छ । पालिकाले बढि लागतका योजनालाई गौरवको आयोजनाको रुपमा समावेश गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार आव २०७७/७८ मा शुरु भएको १५ सय्याको अस्पताल,शित भण्डार, वहुउद्धेश्यीय सभाहलको काम हालसम्म पनि सम्पन्न हुन सकेको छैन । यसैगरी सडक र नाली सहितका २० वटा योजनाको काम निर्माण ब्यवसायीहरुको लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

पालिकाबाट बजेट विनियोजन भएर काम शुरु भएपछि उत्साहित भएका स्थानीय बासिन्दाहरु अहिले समयमै काम सम्पन्न नभई अधुरो रहेपछि निराश बन्न थालेका छन् ।


“आव २०७५/७६ देखिका योजनाहरु समेत निर्माण सम्पन्न नभएको अवस्था छ,” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने,– “निर्माण ब्यवसायीहरुले काम नसक्दा निर्माण कार्यका लागि आएको पैसा फ्रीज हुने र पालिकालाइ अनावश्यक दायित्व बढ्दै गएको छ ।” योजनाहरु अधुरा हुँदा आम जनतामा नैराश्यता उत्पन्न भएको र दायित्व थपिएको कारण अन्य विकास निर्माण समेत प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

पुराना योजना मात्रै नभई चालु आर्थिक बर्षका योजनाको समेत सन्तोषजनक प्रगति देखिएको छैन । चालु आवमा २६ योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरि सम्झौता भएकोमा केही योजना हालसम्म कार्यान्वयन भएका छैनन् । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरवहादुर बिकले ठेक्का लिने तर समयमै काम नगर्ने परिपार्टी बन्न थालेको भन्दै यसबाट समग्र विकास निर्माण नै प्रभावित बन्न थालेकाले अबका दिनमा कडाईका साथ प्रस्तुत हुने बताए ।

विकास निर्माणका काममा ढिला सुस्ती गर्ने निर्माण ब्यवसायीहरुलाई छिटो काम अघि बढाउन सचेत गराउदै पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तत्कालै निर्माण कार्य अघि नबढाए खरिद ऐन र प्रचलित कानुन अनुसार कारवाहीको प्रक्रियामा जाने चेतावनी गाउँपालिकाले दिएको छ ।

गाउँपालिकाले आगामी दिनमा उपयुक्त मनासिव कारण बाहेक कुनै पनि सर्तमा ठेक्का सम्झौताको म्याद थप नगर्ने प्रष्ट पारेको छ । गाउँपालिकाले सम्वद्ध निर्माण ब्यवसायीलाई कार्यालयमा बोलाएर तत्काल काम अघि बढाउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन शुरु

१७ चैत्र २०७९, शुक्रबार १३:०६
नेपालगञ्ज : नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा शुरु भएको छ । राष्ट्रिय मिडिया सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उदघाटन गरिन् । देशभरका पत्रकार महासंघका अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधिकारीहरू सम्मेलनमा सहभागी छन् । तीन दिनसम्म चल्ने सम्मेलनले मिडिया सञ्चालन सम्बन्धी नीतिगत विषयमा छलफल गरी घोषणापत्र […]