मजदुरीका लागि भारत गएका बाँकेका एक नेपाली बेपत्ता

सदरलाइन संवाददाता १६ चैत्र २०७९, बिहीबार १३:४१
 

नेपालगञ्ज : मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् ।

बाँकेको राप्तीसोनारी ८ का ६१ वर्षीय धनबहादुर कुसारी भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला कोटखाइबाट फागुन १३ गतेबाट बेपत्ता भएको कुसारीका आफन्तले जनाएका छन् ।

कोटखाइस्थित बागी भन्ने ठाउँबाट घर जान्छु भनी हिँडेका कुसारी एक्कासि बेपत्ता भएको उनकी पत्नी खैरे कुसारीले बताइन् ।

उनका अनुसार बागीमा मजदुरी गरिरहनुभएका पति कुसारी फागुन १३ गते (फेब्रुअरी २४ ) घर जान्छु भनी त्यहाँबाट हिँडेपछि परिवारको सम्पर्कमा आएका छैनन् ।

भारतमा पुगेर थुप्रै ठाउँमा उहाँको खोजी गरिए पनि हालसम्म कुनै पत्तो लगाउन नसकिएकाले खोजीमा सहयोग गरिदिन सबैसँग कुसारी परिवारले आग्रह गरेको छ ।

सामान्य अवस्थामा रहेका कुसारीको परिवारले उनको खोजीमा गत चार महिनादेखि धेरै खर्च र दौडधुप गरे पनि फेला पार्न नसक्दा अति नै पीडामा छ ।


परिवारका अनुसार यस अघि भारतमा मजदुरीका लागी पटक पटक जाने गरेका ६१ वर्षीय कुसारी यसपटक एक्लै घर फर्किन्छु भनी बागीबाट हिँड्ेका थिए । उनी बागीबाट गाडी चढेर कुन स्थानमा पुगे वा कता गए भन्ने बारेमा केही पनि पत्ता लाग्न सकेको छैन ।

कुसारीको परिवारले माइती नेपालको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा पनि घटनाबारे जानकारी गराएर खोज्नका लागि निवेदन दिएका छन् ।

माइती नेपाल नेपालगञ्ज कार्यालयका प्रमुख केशव कोइरालाले कुसारी हराएको जानकारी प्राप्त भएको र खोजीका लागी भारतीय प्रहरीलाई सम्पूर्ण विवरण दिएर समन्वय गरिएको बताए ।

कुसारीलाई भारतमा कसैले कतै फेला पारेमा नेपालस्थित मोबाइल नम्बर ९७४९८९८२३० वा ९८६४९२९८४१ वा माइती नेपालको कार्यालयमा सम्पर्क गरिदिनुहुन कुसारीको परिवारले सबैसँग आग्रह गरेको छ ।

सो घटनाबारे बाँके प्रहरीलाई पनि जानकारी गराएर भारतीय प्रहरीसँग समन्वय गरी खोजीका लागि समन्वय गर्न आग्रह गरिएको बेपत्ता कुसारीकी श्रीमती खैरे कुसारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा संकलन गरिएको खोटो बाँकेमा विक्री हुँदै

१६ चैत्र २०७९, बिहीबार १३:४१
नेपालगञ्ज : दाङमा १० सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो संकलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ […]

सम्बन्धित