दाङमा संकलन गरिएको खोटो बाँकेमा विक्री हुँदै

सदरलाइन संवाददाता १६ चैत्र २०७९, बिहीबार १३:५४
 

नेपालगञ्ज : दाङमा १० सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो संकलन गरिएको छ ।

डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ र निकासी कर प्रतिकिलो १२ रुपैयाँ राजस्व तिर्ने गरेका छन् । ‘वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ’, उनले भने ।

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दैआएका छन् । तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गिर्न थालेको स्थानीयले बताएका छन् ।

वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए ।


यो वन समूहले यस वर्ष करिब रु दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रु १२ का दरले खोटो खरिद गर्दैआएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुंगा सामुदायिक वन समूहले यो वर्ष करिब २२ हजार ५०० किलो खोटो बिक्री गरेको छ ।

वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो संकलन गर्छ । खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ । ‘रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ’, उनले भने, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन । आगोबाट भने बचाउनु पर्छ ।’

त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगरले बताए । सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन गर्ने गरिन्छ । बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुंगा सामुदायिक वन समूहले खोटो संकलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चैतेदशैमा नेपालगञ्जको बागेश्वरी मन्दीरमा जिब्रो छेड्नेको लहर (फोटो कथासहित )

१६ चैत्र २०७९, बिहीबार १३:५४
नेपालगञ्ज :  रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देबीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्नेे […]