नेपालगञ्ज : हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैंको चौथो दिन मंगलवार कुष्माण्डा भगवतीको पूजा अर्चना गरिंदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतिकको रुपमा पनि पुज्ने गरिन्छ ।
आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको धार्मिक कथन छ ।
यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छिन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।
यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।
शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने धार्मिक प्रचलन छ । अघिल्ला बर्षहरुमा देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो लाग्ने भए पनि यस बर्ष त्यस्तो अवस्था छैन ।
कोरोना संक्रमणको जोखिमका कारण मन्दिरहरुमा नियमित पूजा मात्रै गरिन्छ । भक्तजनहरुका लागि मन्दिर नखोल्न सरकारले जारी गरेको निर्देशनका कारण सार्वजनिक पूजामा रोक लगाइएको हो ।