२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बाँकेमा कडा खालको रुघाखोकीका विरामी बढ्दै



नेपालगञ्ज : कोभिड महामारीपछि बाँकेमा कडा खालको रुघाखोकी र भाइरलका बिरामी बढ्दै गएका छन् । कोभिडजस्तै लक्षण देखिने सो भाइरल निको हुन एक महिनासम्म लाग्ने गरेको चिकित्सकको भनाइ छ । जाडो सकिएर गर्मी सुरु हुन थालेसँगै बाँकेमा फैलिएको निकै कडा खालको फ्लु, रुघाखोकी, डायरिया र उच्च ज्वरोका बिरामी बढ्दै गएको वरिष्ठ फिजिसियन डा. प्रकाश नागले जानकारी गराएका छन् ।

केही दिनयता फैलिएको ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएका बिरामी आउने क्रम अत्यधिक बढेको बताए । ती बिरामीमा कोरोनाको जस्तै लक्षण देखिने, निकै कडा औषधि चलाउनुपर्ने र निको हुन लामो समय लाग्ने गरेको डा. नागले उल्लेख गरेका छन् । अन्य समयको भाइरल निको हुन बढीमा एक साताको समय लाग्ने गरेकोमा अहिले फैलिएको कडा खाले फ्लु निको हुन एक महिना पनि लाग्ने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले जानकारी गराए ।

भेरी अस्पतालमा मात्रै दैनिक दुई सयदेखि तीन सयभन्दा बढीको सङ्ख्यामा त्यस्ता बिरामी उपचारका लागि पुगिरहेको अस्पतालले जनाएको छ । यस्तै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालमा पनि हाल आएर कडा खालको मौसमी फ्लुका बिरामी आउने क्रम बढेको अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले बताए ।

उनले रुघाखोकी, ज्वरो, छाती दुख्ने र निमोनिया र छालाका बिरामी निकै बढेको बताए । शिक्षण अस्पताल नेपालगञ्जमा मात्रै दैनिक तीन सयभन्दा बढी रुघाखोकी र ज्वरोका बिरामी पुग्ने गरेको सहनिर्देशक डा. किदवाईको भनाइ छ ।

प्रकाशित मिति : २०७९ चैत ४ गते शनिबार
ताजा समाचार