चिसो अत्याधिक बढेपछि जानकीमा ब्लाङ्केट वितरण

सदरलाइन संवाददाता २८ पुष २०७९, बिहीबार १४:१६
 

जानकी (बाँके) : चिसो अत्याधिक बढेपछि जानकी गाउँपालिकाले ब्लाङ्केट वितरण गरेको छ । दुई सातादेखि अत्याधिक बढेको चिसो छल्न सहजता प्रदान गर्ने उद्देश्यले जानकी गाउँपालिकाका वडा नम्वर ४, ५ र ६ को वडा कार्यालयले ओढ्ने ब्लाङ्केट वितरण गरेका हुन् ।

गरिब, विपन्न, बृद्धबृद्धा, एकल महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जाडो छल्न ब्लाङ्केट वितरण गरिएको हो । चिसोको समयमा बृद्धबृद्धालाई ब्लाङ्केट दिएपछि स्थानीय शहादत अलीले खुशी व्यक्त गर्दै पालिकालाई धन्यवाद समेत दिए ।

यस्तै वडा नम्वर २ भैयापुरकी पूर्ण अपाङ्गता भएकी ७३ बर्षकी बृद्धा मैश्वरी सुनारलाई मिलाप संस्थासंगको सहकार्यमा पालिकका अध्यक्ष छब्बन खाँले ह्रिलचियर र वडा नम्वर ३ बञ्जाडे गाउँका असहाय तथा अपाङ्गता भएका ७५ वर्षका बृद्ध मिश्रिलाल बर्मालाई वाकर वितरण गरेका छन् ।


प्यारालाइसिस भएकी आफ्नी सासुआमालाई ह्रिलचियर दिएपछि बुहारी लक्ष्मी सुनारले खुशी व्यक्त गरिन् । साथै स्थानीयहरुको सुखदुःख बुझ्न भेटघाटका क्रममा रहँदा वडा नम्वर २ दमादमपुरवाका ३८ बर्षीय अमरसिंह सरदार विजुलीको पोलमा काम गर्दा करेन्ट लागेर शारीरिकरुपमा अशक्त भएको थाहा पाएपछि गाउँपालिका अध्यक्ष खाँले औषधी उपचारको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

ब्लाङ्केट वितरण कार्यक्रममा अध्यक्ष खाँ, उपाध्यक्ष रामप्यारी यादव, खाँका स्वकीय सचिव सोहराब दर्जी, वडा नम्वर ४ का अध्यक्ष रमेश कुमार वर्मा, वडा नम्वर ५ का अध्यक्ष टिकानाथ यादव, वडा नम्वर ६ का अध्यक्ष जगदिश हरिजन र कार्यपालिका सदस्य राजेन्द्र सिंहको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृष्णा केसी ‘नमुना’ मन्त्री बन्ने पक्का

२८ पुष २०७९, बिहीबार १४:१६
नेपालगञ्ज : नेकपा माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ मन्त्री बन्ने पक्का भएको छ । नेकपा माओवादी लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेशको मन्त्री पदका लागि नमुनाको नाम सिफारिस गरी मुख्यमन्त्री लिला गिरीलाई पत्राचार गरेको छ । यसअघि पनि प्रदेशसभा सदस्य रहेकी इमान्दार एवम् बिकासप्रेमी नेता नमुनाले कुन […]