२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

साइनिङ अस्पतालका कुष्ठरोगी बिरामीलाई फलफुल तथा कम्बल वितरण



नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालका कुष्ठरोगी बिरामीलाई फलफुल तथा कम्बल वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले कम्बल वितरण गरेको हो भने आइएनएफले फलफुल वितरण गरेको हो ।

साइनिङ अस्पतालका २५ जना बिरामीलाई फलफुल तथा कम्बल वितरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपालीले जानकारी दिनुभयो ।‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ आज ७० औं कुष्ठरोग विरुद्धको दिवस मनाइदैछ ।

दिवसका अवसरमा अस्पतालमै आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले कुष्ठरोग निवारणका लागि आफुहरुले रोगीको पहिचान, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । समाजमा अझै पनि कुष्ठरोगीलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको भन्दै उनले कुष्ठरोगबारे सचेतना जगाउन जरुरी रहेको बताए ।

यस्तै भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले कुष्ठरोगले पार्ने असर, उपचार र जोगिने तरिकाबारे जानकारी गराएका थिए । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण रहेकाले शरीरमा यस्ता लक्षण देखिए चिकित्सकसँग परामर्श लिन सुझाव दिए ।

साइनिङ अस्पतालका मेडिकल अधिकृत गौराङ्ग प्रतिक, सेवाग्राहीका तर्फबाट रमेश सुनार लगायतले बोलेको उक्त कार्यक्रमको स्वागत मन्तव्य फोकल पर्सन नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार
ताजा समाचार