नेपालगञ्जका शहरी बस्ती भूकम्पीय जोखिममा

सदरलाइन संवाददाता २५ कार्तिक २०७९, शुक्रबार १३:४०
 

नेपालगञ्ज : नेपालगञ्जका शहरी बस्ती भूकम्पीय जोखिममा छन् । पछिल्लोपटक गरिएको सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको शहरी क्षेत्र जोखिममा रहेको देखाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत् भवनहरुको द्रुत संकटासन्नता लेखाजोखा प्रसार कार्यशालामा प्रस्तुत गरिएको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

सहरी विपद् तथा भूकम्पीय जोखिमका हिसाबले सर्वेक्षण गरिएका दुई वडा ३ र ७ का जनघनत्व बढी भएका बस्तीहरु उच्च जोखिममा देखिएका हुन् । कार्यशालामा पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको भन्दै चुरे पहाडको रेन्जमा जोखिम अझ बढी हुने औंल्याइएको छ । नेपालगञ्ज पनि भूकम्पको जोखिममा रहेकाले पूर्व तयारी आवश्यक पर्ने बताइएको छ । विपद् प्रतिकार्य पूर्व तयारीलाई प्रभावकारी बनाउन जोखिमयुक्त बस्ती मानिएका नेपालगञ्जका वडा नम्बर ३ र ७ लाई छनौट गरी अध्ययन गरिएको हो ।


कार्यशालामा प्रस्तुतिकरण दिँदै संरचनात्मक इन्जिनियरिङ विशेषज्ञ सन्तोष श्रेष्ठले पुराना घरहरु र साँघुरा बस्तीहरु भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारी आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकालाई भूकम्पीय सुरक्षाका मापदण्ड कडारुपमा लागू गर्दै विपत् न्यूनीकरणका लागि आगामी योजना र बजेट विनियोजनमा सहजीकरण गर्ने उद्देश्यले पुराना र घना घर भएका वडा नम्बर ३ र ७ लाई छनौट गरी १४०८ घरको दु्रत संकटासन्नता सर्वेक्षण गरिएको बताइएको छ ।

कार्यशालामा नेपालगञ्ज उपमहानगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, कार्यपालिका सदस्य बसन्त कनोजिया, युनिसेफका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देशक, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, इन्जिनियरहरु शैलेश श्रेष्ठ, प्रकाश डिसी लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर वाणिज्य संघको सात बुँदे माग

२५ कार्तिक २०७९, शुक्रबार १३:४०
कोहलपुर (बाँके) : कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गरेको छ । राष्ट्र बैकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनका कारण उद्योगी व्यवासायीहरु धराशायी, पलायन एवं आत्मदाह गर्नेसम्मको परिस्थिती […]