२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

शहरलाई गाउँसँग जोड्दै बाँकेका होमस्टे



कोहलपुर (बाँके) : बाँकेका गाउँबस्तीमा व्यावसायिक रूपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ ।

होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । आफ्नो ठाउँ, परिवेश, माटो सुहाउँदो आफ्नो मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएकाले होमस्टेमा आउने पाहुनाले गाउँले जीवन, परिवेशको जानकारीसँगै स्थानीय परिकारको स्वाद लिँदा नयाँ अनुभव हुने गरेको चौधरीको भनाइ छ ।

शहरका रेष्टुराँ र होटेलमा हुने जन्मदिन उत्सवलगायत सानातिना कार्यक्रमदेखि सरकारी तथा गैरसरकारी संघ–संस्थाका बैठक र कार्यक्रम पनि अहिले होमस्टेमा हुने गरेका छन् । गाउँमा गएर बैठक तथा कार्यक्रम गर्दा नयाँ अनुभव हुनुका साथै सहभागीलाई समेत उत्साह मिल्ने गरेकाले आफूहरूले अधिकांश बैठक तथा कार्यक्रम होमस्टेमा गर्दै आएको नेपालगञ्ज जुनियर जेसिजका अध्यक्ष शिवकुमार मौर्यले बताए ।

गाउँमा सञ्चालन भएका होमस्टे शहरलाई गाउँसँग जोड्ने माध्यम भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक–३२५ बी २ का पूर्वगभर्नर मधुसूदन शर्मा बताउँछन् । होमस्टेमा घुम्न आउने पाहुनालाई मनोरञ्जनका लागि लायन्स पार्क, वनभोज स्थललगायत १० लाखभन्दा बढीको पूर्वाधार निर्माणमा लायन्सले सहयोग गरेको जानकारी दिए । अहिले गाभर होमस्टे पुग्ने पाहुना लायन्स पार्कमा पुगेर रमाउने गरेका छन् ।

गाउँमा स्थापना भएका होमस्टेले शहरलाई गाउँसँग जोड्नुका साथै गाउँमा रोजगार पनि सृजना गरेको छ । गाउँमा उत्पादित पशुपन्छीका मासु र दुग्ध पदार्थको खपत गाउँमै भएको छ । गाउँका युवाले गाउँमै काम पाउने अवस्था भएको छ । समुदायमा स्वरोजगार तथा रोजगारको सृजना भएको छ ।

काम गर्न चाहने युवाहरू गाउँमै रोजगारमा संलग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक रू. १ करोडभन्दा बढी आम्दानी हुने गरेको होमस्टे महासंघका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भदौ २९ गते बुधबार
ताजा समाचार