खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको समन्वय तथा सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको आयोजनामा स्टिम एजुकेशन सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । पालिकाको शैक्षिक क्षेत्रलाई नमूना बनाउने उद्देश्य लिएको पालिकाले मंगलबारदेखि खजुरामा स्टिम एजुकेशन सम्बन्धी तीन दिने तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन शत्रमा बोल्दै खजुराकी सामाजिक विकास संयोजक कृष्णा पोखरेल बिकले शैक्षिक क्षेत्रलाई नमूना बनाउन सबैले सहकार्य र हातेमालो गर्न आवश्यक रहेको औल्याईन । उनले खजुराका केही विद्यालयले आफुलाई नमूनाका रुपमा प्रस्तुत गरेको भएपनि सबै विद्यालयलाई नमूना बनाउन आग्रह गरिन ।
नमूना भएका विद्यालय अपनाएका तौरतरिका, प्रक्रिया अन्य विद्यालयले कार्यान्वयनमा ल्याएर पालिकालाई शैक्षिक नमूना बनाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले नेपालमा सबै कुरा राम्रो रहेको भए पनि कार्यान्वयनमा समस्या रहेको बताए । शैक्षिक क्षेत्रका जिम्मेवार व्यक्ति नै परिवर्तन हुन नचाहेको अवस्था देखिएको उनको भनाई छ ।
पालिकाको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
स्याक नेपालका कार्यबाहक अध्यक्ष कृष्ण गिरीले संस्थाले स्थानीयतह शिक्षा क्षेत्रमा गर्ने कार्यमा आफुहरु सहयोगी भएको बताए । उनले खजुराका बिभिन्न विद्यालयमा आवश्यकता अनुसारको क्षमता अभिबृद्धि गर्ने कुराहरुमा पनि निरन्तर सहयोग गरिएको बताए ।
२०२३ मा परियोजनाले ५ वटा विद्यालयमा सिकाई परियोजना संचालन गरेको छ । इन्टिग्रेटरुपमा रहेको पाठ्यक्रमलाई स्टिमसंग जोडी यसको कार्यान्वयनका लागि पहल पनि गरिएको छ ।
सिकाई परियोजना संचालन भएका विद्यालयका शिक्षकहरुको सहभागितामा तालिम संचालन भएको परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार खजुराको शैक्षिक गुणस्तरका लागि निरन्तर कार्यक्रमहरु संचालन गरिएको छ ।
तालिमलाई काठमाण्डौ बिश्वविद्यालयका प्रोफेसर इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्दै आएका छन । ८ वटा विद्यालयका २४ जनाको शिक्षक शिक्षिकाको सहभागिता रहेको छ ।