नेपालगञ्ज : प्रतिबन्धित लागुपदार्थ चरेश बोकेर भारत प्रवेश गर्दै गरेकी नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् ।
भारत रुपईडिहाका थाना ईञ्चार्ज शमशेर बहादुर सिँह र रुपईडिहास्थित एसएसबीको ४२औं वाहिनीका जवानले संयुक्त जाँच गर्दा बाग्लुङ निसी वडानं. ७ बस्ने ३२ वर्षीया जीवनकुमारी घर्तीका साथबाट एक किलो चरेश बरामद गरेको हो ।
भारतीय प्रहरीको नियन्त्रणमा रहेकी घर्तीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको भारतीय प्रहरीलाई उदृत गर्दै रुपईडिहाबाट सञ्चारकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।