नेपालगञ्ज : बाँके र बर्दियाका धेरै स्थानहरूमा बुधवार बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी, खजुरा र नेपालगञ्ज, बर्दियाका रम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो ।
आगामी तीन घण्टा यस क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकोले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी समेत आउन सक्ने जनाइएको छ । खोला आसपास र होचा स्थानहरूमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच छिनभरको पानीले कोहलपुरका धेरै स्थानहरु जलमग्न भएको छ । बुधबार विहानदेखिको वर्षातले कोहलपुरका धेरै स्थानहरु जलमाग्न भएको हो ।
पटक पटक जलमग्न हुने स्थानमा पानीको निकास सहि रुपमा नहुदा आफुहरुलाई हिड्डुल गर्न असहज हुनुका साथै डुबानमा पर्ने सक्ने सम्भावना रहेको स्थानियहरुको गुनासो छ ।
सिमसिमे पानीका कारण नगरका विभिन्न भाग डुवानको संकेट देखेपछि भारीले वर्षातले कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
नगरमा भएका नाली सफा तथा विकास निर्माणका काम व्यविस्थत रुपमा नगर्दा स्थानियवासीले दुख पाइरहेका छन् ।
केही दिन अगाडी पनि छिनभरकै पानीले नगरका विभिन्न स्थानहरुमा पानी जमेर जलमग्न भएको थियो । तर अहिले सम्म उक्त पानीको निकासका लागि भने कुनै विकल्प खोजिएको छैन ।
कोहलपुर न्युरोडमा छिनभरकै वर्षातले पानी जम्ने समस्या देखिएको छ । यसरी भर्खरै गरिएको कालो पत्रे पानी जम्ने समस्याले क्षति हुने सहजै बुझन सकिन्छ । यसप्रति सम्बन्धित निकायले ध्यानकार्षण दिन जरुरी देखिएको छ ।