नेपालगञ्ज : सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्याउने किसिमको लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने गरेको पाइएमा जिल्ला प्रहरी कार्यालय बाँकेले कारवाही गर्ने भएको छ ।
उक्त क्रियाकलापहरु बढ्दो क्रममा देखिएकोले यस विषयमा गम्भिर ध्यानाकर्षण भएको जिप्रका बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार एउटा आग्रहमुलक सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।
प्रहरीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधि सामाजिक संजालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने सुचना मार्फत प्रहरीले जनाएको छ ।