सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका नेकपा एमालेका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको वीरेन्द्रनगर नगर कमिटीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
एमालेबाट वीरेन्द्रनगरको मेयरमा मोहनमाया ढकाल (भण्डारी) र उपमेयरमा नीलकण्ठ खनाल उम्मेदवार बनेका छन् । घोषणापत्रमा भेरीको पानी लिफ्टिङ गरी तीन वर्षभित्र वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने र वीरेन्द्रनगरमा सहायक राजमार्ग निर्माण गर्ने उल्लेख छ ।
त्यस्तै वैकल्पिक बसपार्क निर्माण गर्ने, नगर क्षेत्रभित्रका सडक र प्रत्येक घरधुरीको नम्बरिङ गरी मेट्रिक ठेगाना प्रणाली लागू गर्ने, वीरेन्द्रनगरको गुरूयोजना अनुसार नक्सांकन गरिएका सडकको लगतकट्टा गर्न सहरी नापीलाई निरन्तरता दिने र फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणलाई तीव्रता दिने प्रतिबद्धता गरिएको छ ।
घोषणा पत्रमा ‘एक घर एक महिला स्वरोजगार’, एक घर दुई बिरुवा, हामी आफैं कुरुवा’ जस्ता नाराहरू समेटिएका छन् । नगर बस सञ्चालन गर्नेदेखि उपयुक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन गरिने पनि घोषणापत्रमा उल्लेख छ ।