धनगढी : कैलालीको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका–९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमबार राति पक्राउ गरेको हो ।
५३ वर्षीय वडाध्यक्ष चौधरीसँगै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको हो ।
जीपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा १२ बोर र त्यसको कार्टिज वडाध्यक्ष चौधरीको र पोइन्ट टु–टु र त्यसको गोली शाहको रहेको खुल्न आएको बताइएको छ ।
चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।