Sadarline
२०८३ असोज २६ , सोमबार

युवाहरुलाई खेलकुद सामग्री सहयोग



नेपालगञ्ज : युनिक नेपाल बर्दियाले युनिक स्पोर्ट्स् क्लबको भलिबल र फुटबल समूहलाई खेलकुदको सामग्री सहयोग गरेको छ । युनिक नेपालमा आयोजित सो कार्यक्रममा ति दुई समूहलाई भलिबल नेट, भलिबल र फुटबल लगायतका सामग्री सहयोग गरेको हो ।

कार्यक्रममा खेलकुद सामग्री हस्तान्तरण गरेपछि युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले युनिक नेपालले युवाहरुको मानसिक र शारिरीक स्वास्थ्यको विकास मार्फत समग्र समाज र देश स्वस्थ भएको देख्न चाहेको बताए ।

उनले युवाहरु देशका सम्पत्ति हुन् तपाईहरु रचनात्मक कार्यमा लाग्नका लागि र खेल मार्फत स्वस्थ रहनका लागि खेलकुद सामग्री सहयोग गरेको बताए । साथै यस वर्ष पाइलटिङ्गको रुपमा खेलकुद क्षेत्रलाई समेटेको भएपनि आगामी आर्थिक वर्षमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका सम्पूर्ण वडाहरुलाई समेट्ने कोशिस रहने बताए ।

युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले युवा देशका गहना हुन्, युवा देशका रक्षक र विकासका सम्वाहक भएकाले युवाहरु स्वस्थ रहनुका साथै सकरात्मक सोंचको विकास गर्न सके मात्र देशले मुहार फेर्ने भन्दै यसका लागि नियमित खेलमा आवद्ध हुन अनुरोध गरे । साथै, आफुलाई जतिसुकै आधुनिक माने पनि, काटिएको पाइन्ट र लामो कपाल, मुन्द्रा लगाए पनि त्यो युवाहरुमा आफ्नो माटो, आमा र अग्रजहरु अगाडी जहिले पनि सम्मान गर्ने बानी नै हाम्रा युवाहरुको पहिचान हो भनेर उत्प्रेरणा जगाउनु भएका थिए ।

कार्यक्रममा युनिक नेपालका सचिब निर्मला थारुले युवाहरु कुलतलाई त्यागेर खेलमा आकर्षण बढाएमा देशको भविष्य फेरिने बताए । यसैगरी कार्यक्रममा युवा नेता सिताराम थारुले खेल मार्फत सम्पूर्ण युवाहरुबिच मेलमिलापको भावना जागृत गर्दै स्वस्थ समाजको विकासका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा युनिक नेपालका कार्य समिति सदस्यद्धय राधा चौधरी र राधेश्याम थारु, युवाविद्यार्थी नेता जगतराम थारु, जोतपुरका बरघर बिरेन्द्र दहित, युनिक स्पोर्ट्स् क्लबका अध्यक्ष रामस्वरुप थारु, बालाबजार खेलकुद समितिका अध्यक्ष देवेन्द्र थारु, सुम्मत सहकारी संस्था लि.का अध्यक्ष रघुराम थारु, ग्रामिण युवा विकास समाजका अध्यक्ष बिमल चौधरी लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार
ताजा समाचार