नेपालगञ्ज : शुक्रवार विश्व क्यान्सर दिवस मनाइएको छ । ’क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस बाँकेमा मनाइएको छ ।
हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाइएको हो ।
दिवसका अवसरमा बाँके स्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालले पनि अनौपचारिक रुपमा कार्यक्रम गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरु बिच ब्याडमिन्टन र कबिता प्रतियोगिता गर्ने कार्यक्रम रहेपनि पानीले गर्दा स्थगित गरिएको छ ।
दिवसका अवसरमा अस्पतालमा भर्ना भएका क्यान्सरका ३० जना बिरामीलाई फलफुल वितरण गरिएको अस्पतालका निर्देशक डा. कृष्ण आचार्यले बताए ।
नेपालमा बर्षेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । खानपानमा ध्यान पुर्याए मात्रै क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।