नेपालगञ्ज : नेपालगञ्ज रंगशालास्थित पौडी पोखरी (स्विमिङ पुल)को शुल्क घटाइएको छ । विभिन्न चाडपर्वलाई लक्षित गरि पौडीपोखरीको शुल्क घटाइएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । ‘सर्वसाधारणको मागलाई दृष्टिगत गरि यसअघि लिइँदै आएको शुल्क घटाइएको छ,’ उनले भने ।
समितिले स्पेशल र सदस्य समुहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । स्पेशल र सदस्य समुहका लागि विहान ८–१० बजे र स्पेशल समुहका लागि बेलुकी ४ः३०–६ः३० बजेको समय निर्धारण गरिए पनि अहिले सवैलाई एकै समुहमा राखिएको कार्यालय प्रमुख चन्दले बताए ।
उनले एक सिफ्टको दुई सय रुपैयाँ कायम गरिएको बताए । यसअघि समितिले प्रति सिफ्ट तीन सय रुपैयाँ लिँदै आएको थियो । ‘विद्यार्थीलाई सय रुपैयाँमा पौडी खेल्ने सुविधा दिइएको छ,’ उनले भने । उनले मासिक, अर्ध बार्षिक र बार्षिक सदस्यता शुल्क समेत निर्धारण भएको बताए ।
स्विमिङ पुल सञ्चालनका लागि प्रशिक्षक र जीवन रक्षकको ब्यवस्था समेत गरिएको छ । स्विमिङ गर्नुभन्दा पहिले अनिवार्य रुपमा सावर लिनुपर्ने र स्विमिङ गर्नेहरुले अनिवार्य रुपमा स्विमिङ कस्टम लगाउनु पर्ने नियम बनाइएको छ ।