नेपालगञ्ज : राष्ट्रिय योग दिवसका अवसरमा सुर्खेतका वृद्धवृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा रहेका वृद्ध–वृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको हो ।
आश्रममा रहेका २४ जना वृद्ध–वृद्धा र ३ जना सहयोगी कर्मचारी गरी २७ जनालाई ३० थान न्यानो कपडा (कम्बल) र आयुर्वेद औषधि वितरण गरिएको निर्देशनालयकी आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले बताइन् ।
उनका अनुसार वृद्ध–वृद्धाहरूका लागि जिउ दुख्ने र खोकी लागेमा प्रयोग गरिने औषधि र फलफूल पनि वितरण गरिएको छ ।
उक्त सामग्रीहरू स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काले वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । डा. खड्काले सामग्री हस्तान्त्रण गर्दै कोभिड १९ को तेस्रो भेरियण्ट बढ्दै गइरहेकोले सबैले सावधानी अपनाउन सुझाव दिए ।
तेस्रो भेरियण्टका कारण योग दिवसका अवसरमा सभा तथा विभिन्न योग सम्बन्धिका क्रियाकलाप गर्न नपाइने भएकाले आश्रममा रहेका वृद्ध–वृद्धाहरूलाई न्यानो कपडा तथा औषधि वितरण कार्यक्रम राखिएको हो ।
सोही अवसरमा वृद्धाआश्रमका उपाध्यक्ष शीतलसिंह राठौरले आश्रममा रहेका वृद्ध–वृद्धाहरुले नियमित योगका विभिन्न आसनहरू गर्ने गरेको जानकारी दिए ।
दिवसका अवसरमा योग समिति नेपालले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को योगा हलमा शनिवार बिहान भेलासहित छलफल गरेको छ । योगको महत्व लगायतका विषयमा जानकारी दिनुका साथै माघी मिलनसमेत गरिएको थियो ।