महोत्सवको विरोधमा तुलसीपुर बजार बन्द

सदरलाइन संवाददाता २८ मंसिर २०७८, मंगलवार १३:१२
 

नेपालगञ्ज : तुलसीपुर उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २३ वटा उपसमितिले तुलसीपुर बजार बन्द गरेका छन् । आगामी पुस १ देखि १२ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सवको विरोधमा मंगलबार तुलसीपुर बजार बन्द गरिएको हो ।

तुलसीपुर चेम्बर अफ कमर्सले जबरजस्ती महोत्सव आयोजना गर्न लागेको भन्दै उनीहरूले मंगलबार बेलुका ५ बजेसम्म बजार बन्द गरेका हुन् ।

कोरोना महामारीका कारण व्यापार व्यवसाय थला परेको समयमा महोत्सवले व्यापारीलाई झन् मर्कामा पार्ने तुलसीपुर फेन्सी व्यवसायी संघको संयोजक हरि कँडेलले बताए । उनले मेला महोत्सव मनोरञ्जनको साधनको रुपमा भएपनि पछिल्लो समय जिल्ला बाहिरबाट विभिन्न ब्यापारीहरूले गुणस्तरहीन बस्तुहरू बिक्री गर्ने गरेको भन्दै अब सधैँको लागि मेला महोत्सव बन्द गर्नुपर्ने समेत बताए ।

महोत्सव आयोजकसँग करिब १५ पटकसम्म लगातार रुपमा छलफल गर्दै आए पनि आफूहरूको मागलाई सम्बोधन नगरेको कँडेलले गुनासो गरे । तुलसीपुरका व्यवसायीहरूलाई धराशायी बनाएर महोत्सव सञ्चालन नगर्न आग्रह गर्दै मंगलवार पहिलो पटक विरोध स्वरूपमा तुलसीपुर बजार बन्द गराएको र यदि माग सम्बोधन नभए निरन्तर रुपमा शान्तिपूर्ण रुपमा आन्दोलन जारी राख्ने समेत उनको भनाइ छ ।


त्यस्तै तुलसीपुरमा प्लास्टिकका भाँडाको व्यवसाय गर्दै आएका धनश्याम भुसालले आफूहरू कोरोना महामारीका कारण मार खेप्दै आएको समयमा फेरि तुलसीपुरमा महोत्सव लगाउँदा फेरि घाटा लाग्ने दाबी गरे । उनले अहिले फेरि नयाँ कोरोना भाइरसको भेरियन्ट फेला परेको अवस्था यसरी मेला महोत्सव लगाउनु उचित नभएको तर्क गरे । उनले कोरोना महामारीको समयमा स्थानीय सरकार र प्रशासनले अनुमति दिनु नै गल्ती भएको बताए ।

तुलसीपुरमा व्यवसाय गर्दै आएका विमल गौतमले बजार बन्द गर्नु भन्दा पनि वार्ता र संवादबाट यसको निकास निकाल्नु पर्ने सुझाव दिए। उनले बजार बन्दका कारण दैनिक गुजारा टार्ने व्यवसायीहरूलाई समस्या परेको समेत बताए ।

यता महोत्सव आयोजक तुलसीपुर चेम्बर अफ कमर्सले भने महोत्सव तोकिएकै समयमा सञ्चालन हुने बताएको छ । महोत्सवको तयारी करिब ९० प्रतिशत सकिएको भन्दै आफूहरूले व्यवसायीहरुको समस्या समाधानका लागि वार्ता र छलफल गर्दै आइरहेको चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राँझा विमानस्थलको गेटमा प्रदर्शन

२८ मंसिर २०७८, मंगलवार १३:१२
नेपालगञ्ज : नेपालगञ्जस्थित राँझा विमानस्थलको गेटमा मंगलवार प्रदर्शन गरिएको छ । असल शासन क्लव बासको अगुवाइमा विमानस्थलको अस्तव्यस्तता विरुद्ध प्रदर्शन गरिएको हो । विमानस्थल असुरक्षितसँगै व्यवस्थापन अस्तव्यस्त भएको भन्दै शान्तिपूर्णरुपमा प्रदर्शन गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । विमानस्थल क्षेत्रको झाडी सफाइ नहुँदा जंगली जनावरहरु विमानसँंग पटकपटक ठोक्किने […]