२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

धनवन्तरी जयन्ती तथा आरोग्य दिवस मनाईयो




नेपालगञ्ज : आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा मंगलबार देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ । बाँके अयुर्वेद स्वास्थ्य केन्द्रको नेपालगञ्जको आयोजनामा बाँकेमा पनि आयुर्वेद विकासको आधार जनशक्ति विकास र पूर्वाधार भन्ने मूलनाराका साथ धनवन्तरी जयन्ती मनाईएको हो ।

सो अवसरमा आयुर्वेद चिकित्सक संघ बाँकेका अध्यक्ष डा. सन्तोश शर्माले आयुर्वेदको महत्वको बारेमा प्रकाुश पार्नु भएको थियो । उहाँले देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने बताए ।

उनले आयुर्वेद क्षेत्र राज्यका कारण पछाडि पर्दै गएको प्रसंग स्मरण गर्दै यसको विकासले चिकित्सा क्षेत्रमा ठूलो फ्डको मार्न सकिने बताए । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा. अनिलकुमार चौधरीको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आपुर्वेद अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारी, गिरिराज शर्मा, नन्दलाल बैश्य, खजुरा गाउपालिकाका उपप्रमुख एकमाया विकलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ कात्तिक १६ गते मंगलबार
ताजा समाचार