बाँकेका पाँच स्थानीय तहका १२ वटा वडा बालविवाह मुक्त

सदरलाइन संवाददाता ६ भाद्र २०७८, आईतवार १७:०३
 

नेपालगञ्ज : बाँकेका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ ।

परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ गाउँपालिकाका एक एक वटा वडा गरी हालसम्म ११ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नम्बर ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।

पछिल्लोपटक शनिबारमात्रै जानकी गाउँपालिका–२ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाए ।


बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुनसकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । २०६८ सालको जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ ।

सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन। जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानुन थाहा नपाएर, साथीहरूको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वामदेव गौतम एमालेमै रहेको स्पष्टोक्ति

६ भाद्र २०७८, आईतवार १७:०३
काठमाण्डौ : नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ । ’पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी […]