काठमाण्डौ : रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा पेश चढे पनि हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ । इजलासमा उनको मुद्दा पहिलो नम्बरमै परेको थियो ।
मजदुरहरुलई इट्टा भट्टामा राखेर जिउँदै जलाएको आरोपमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राख्ने आदेश दिएपछि आलम २०७७ मंसिरमा सर्वोच्च गएका थिए । यसअघि पटक पटक पेशी चढे पनि कैफियत प्रतिवेदन माग्नेबाहेक अरु आदेश भएको थिएन ।
साक्षी र प्रमाणका आधारमा अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । २०६४ सालको संविधान सभा चुनाव हुने अघिल्लो रात चैत २७ मा बम बनाउने क्रममा बिस्फोट हुँदा मारिएका र घाइते भएका मजदुरहरुलाई घटना लुकाउन इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथि छ ।