बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेशले बिशेष योजना निर्माण गरेको बताएका छन । न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन ।
लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले बिशेष योजना निर्माण गरेको कुरामा जोड दिदै भने–‘समग्र शिक्षाको गुणस्तर बढाउन छ । विद्यार्थीमा पठन संस्कृति, खोज, अनुसन्धानको विधिको माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ । एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।’
प्रदेश सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी अघि बढेको, सरकारको एकल प्रयासले मात्रै शिक्षा क्षेत्रको विकासलाई अघि बढाउन नसक्ने, निजि क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको समेत चर्चा गर्दै प्रदेश सरकारले निजि क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पारे ।


उनले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताउदै भने–‘म विद्यार्थीहरुलाइ भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नु पर्दैन । आफ्नै देशको भूमिमा अवसरहरुको सृजना गर्न, नव प्रवर्ततनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु छन । देशलाई तपाईहरुको योगदानको खाँचो छ ।’
न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पु¥याएको, लुम्बिनी प्रदेशबाट देशमै गुणस्तरीय शिक्षा र अब्बल नतिजा देखाउन सफल तथा उदाहरणीय यस विद्यालयबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने, विद्यालयलाई एउटा अध्ययन केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
वि.सं. २०५६ सालदेखि २०८१ सम्म आइपुग्दा धेरै परीक्षाहरु भए । त्यसको नतिजा हेर्ने हो भने पनि विद्यालयले आफूलाई सर्वोकृष्ट स्थानमा उभ्याउन सफल भएको सो अवसरमा जानकारी गराइएको थियो ।