घोराहीमा चारलेन सडक मर्मत शुरु

सदरलाइन संवाददाता १८ भाद्र २०८०, सोमबार १४:१६
 

दाङ : घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्मको हात्तीखौवासम्मको करिब २३ किलोमिटर चार लेन सडक मर्मतको काम सुरु भएको छ । ठेक्का रद्द भएर अलपत्र परेको चार लेन सडक दुई महिनापछि मर्मतको काम सुरु भएको हो ।

चार लेन सडक मर्मत अन्तर्गत पहिलो खण्ड कटुवाखोलादेखि चौघेरासम्म र दोस्रो खण्ड घोराहीको झारबैरादेखि तुलसीपुरसम्मको सडक मर्मतको काम सुरु भएको हो । बर्सातको समयमा सडकमा खाल्डाखुल्डी परेर सवारीसाधन चलाउन समस्या भएपछि मर्मत हुन थालेको हो । कुइरेपानीदेखि गुर्जेखोलासम्मको सडक मर्मतका लागि रोल्पा निर्माण सेवा प्रालिसँग असार १८ गते सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता गरेको थियो ।

सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार असोज मसान्तभित्र सडक मर्मत सक्ने गरी ठेक्का सम्झौता भए पनि बर्सातका कारण सडक मर्मत हुन सकेको थिएन । पानी पार्न रोकिएपछि सडक मर्मतको काम सुरु भएको हो । चार लेन सडक निर्माणको ठेक्का तोडिएपछि पुरानै सडकलाई मर्मत गर्न सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।

लमही–घोराही सडकखण्डको कुइरेपानीदेखि गुर्जेखोलासम्म रोल्पा निर्माण सेवा प्रालि र गुर्जे खोलादेखि तुलसीपुरसम्मको सडक निर्माणका लागि रोल्पा स्वच्छन्द निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । उनका अनुसार पहिलो खण्डको सडक अन्तर्गत कटुवाखोलादेखि चौघेरासम्म सडकको सतह सम्याउने र मिलाउने काम भइरहेको छ । घोराही–तुलसीपुर सडकखण्डमा हात्तीखौवा चोकदेखि झारबैरा चोकसम्म मर्मतको काम पनि भइरहेको छ ।


कार्यालय प्रमुख अधिकारीका अनुसार चार लेन सडक अन्तर्गत पहिलो खण्डको घोराहीदेखि कुइरेपानी सडकखण्डको कटुवाखोलादेखि चौघेरासम्मको सडकको सतह सम्याएर मिलाउने र पिच गर्ने काम भइरहेको छ । दोस्रो खण्डको हात्तीखौवा चोकदेखि झारबैरा चोकसम्म सडक सम्याई कालोपत्रे गर्ने गरी काम सुरु भएको छ । लमही–घोराही सडकखण्डको कटुवाखोलादेखि चौघेरासम्म सडकको आवागमन बन्द गरेर मर्मत शुरु गरिएको छ ।

उक्त सडकमा भदौ १३ गतेदेखि २० गतेसम्म आवागमन बन्द गरेर मर्मतको काम भइरहेको छ । सडक पूर्ण रूपमा बन्द हुँदा घोराही–डबरी हुँदै चौघेरा निस्कने बाटोलाई वैकल्पिक रूपमा प्रयोग गरिएको जनाइएको छ ।

रोल्पा निर्माण सेवा प्रालिले कुइरेपानीदेखि गुर्जे खोलासम्मको सडक मर्मतका लागि एक करोड ४२ लाख रुपैयाँ र रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिले गुर्जे खोलादेखि तुलसीपुरसम्म एक करोड १६ लाखमा सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैदी फरार भएको विषयमा छानबिन गर्न समिति गठन

१८ भाद्र २०८०, सोमबार १४:१६
बर्दिया : आइतबार बिहान ३ बजे जिल्ला कारागार, बर्दियाबाट कैदी अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय, बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोरा, राष्ट्रिय अनुसन्धानका अधिकृत गोपाल थापा, जिल्ला प्रशासन कार्यालयका […]