कालिकोट : कालिकोटको नरहरिनाथ गाउँपालिकाको वडा नम्वर १ कोडवाडा सदरमुकाम मान्म जोड्ने केवुलकार निर्माण गरिने भएको छ ।
सोमवार कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री प्रमुख आतिथ्यता र कर्णाली प्रदेश सरकारको आयोजनामा कोडवाडा मान्म केवलकार सम्भाव्यता अध्ययनको प्रतिवेदन माथि छलफल कार्यक्रम भएको छ ।
यस आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैया लाग्ने बताईएको छ । यसको लम्बाइ २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ भने प्रति सेकेन्ड ८ मिटर हिड्ने र एक घण्टामा २ सय जना आउन जान पाउने छन् । यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान १० मिनेट लाग्नेछ ।
कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भौतिक पुर्वाधार मन्त्री अमरबहादुर थापा, प्रमुख सचिव गणेश पाण्डे, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्पराज खड्का, सदस्य दिपेन्द्र रोकाय लगाएत कालिकोटका ९ वटै स्थानीयतहका प्रमुखको उपस्थित रहेको सो आयोजना संचालनमा आएपछि जनताले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक अवस्था परिवर्तन हुने अपेक्षा गरिएको छ ।