नेपालगञ्ज : व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधनप्रति सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) ले दुःख व्यक्त गरेको छ ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले शुक्रवार एक शोक बक्तब्य निकालेर विज्ञापन बोर्डका सदस्य तथा सुनसरीको इटहरीस्थित रेडियो सप्तकोशी एफएमका स्टेशन म्यानेजर न्यौपानेको असामयिक निधनले स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।
न्यौपानेको निधनले नेपालको स्वतन्त्र र व्यावसायिक रेडियो आन्दोलनमा अपूरणीय क्षति भएको भन्दै शोक बक्तब्यमा भनिएको छ–“नेपालको स्वतन्त्र र व्यवसायिक रेडियो स्थापना र विस्तारको अभियान र आन्दोलनमा महत्वपूर्ण र अग्रणी भूमिका निर्वाह गर्नुभएका, नेपालको स्वतन्त्र रेडियो बचाउ आन्दोलनमा अमूल्य योगदान गर्नुभएका र रेडियोका साझा मुद्दाहरुमा सामुदायिक रेडियो प्रसारक संघसँग विगत लामो समयदेखि सहकार्य र समन्वय गरी रेडियो अभियानलाई यो स्थानसम्म ल्याउन उल्लेख्य योगदान गर्नुभएका न्यौपानेको निधनले अपूरणीय क्षति पुगेको छ ।“
अकोराबले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । कोरोना संक्रमित भई विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको शुक्रवार विहान निधन भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि न्यौपानेलाई वैैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो ।